लङ्खुवा खोला साना जलविद्युत् आयोजनाको निर्माण सम्पन्न, अर्को महिनादेखि व्यावसायिक उत्पादन


काठमाडौं : सभापोखरी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५ मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका-३ मा निर्माण गरिएको उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत् तुम्लिङटार सबसस्टेनमा कनेक्सन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
आयोजनाको निर्माण पूरा गरिसकेपछि नेपाल विद्युत प्राधिकरणको रोहरबरमा आयोजनाको टेस्टिङ तथा कमिसनिङको कामसमेत सम्पन्न भइसकेको आयोजनाका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले जानकारी दिए ।
आयोजनाको टेस्टिङ तथा कमिसनिङ प्राधिकरण इन्जिनियरहरू निपेश रेग्मी, दुर्गाप्रसाद ओली, आशुहाङ राई, डेगराज पौडेल र शत्रुधन यादवको समूहले गरेको थियो । प्राधिकरणलाई १५ दिन निशुल्क विद्युत उपलव्ध गराई अर्को महिनादेखि आयोजनाबाट व्यावसायिक उत्पादन शुरू गरिने देवकोटाको भनाइ छ ।

उक्त आयोजनामा ३ हजार १ सय मिटर लामो हेडरेस पाइप तथा ६ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुखोलाको पानीलाई स्थानीय बाह्रबिसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको सो आयोजना करिब १ अर्ब १० करोड रुपियाँको लागतमा निर्माण पूरा गरिएको देवकोटाले जानकारी दिए ।
कोरोना महामारीका कारण निर्माण अवधि लम्बिँदा आयोजनाको लागत केही बढ्न गए पनि आयोजना निर्माण सम्पन्न गर्न व्यवस्थापकीय समूह अहोरात्र खटिएको देवकोटाले बताए । उनले आयोजना सम्पन्न गर्न विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू, राष्ट्रिय वाणिज्य बैंक तथा सीईओ देवेन्द्र रमण खनाल, मेकामिडि हाइड्रोपावर कम्पनी इण्डिया, कम्पनीका प्रवर्द्धकहरुको साथ सहयोग र धैर्यताप्रति आभार प्रकट गरे ।
त्यस्तै आयोजनाका निम्ति स्थानीयबासी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै देवकोटाले आयोजनाले संखुवासभाको बाह्रबिसे क्षेत्रको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे ।
अहिलेसम्म आयोजना छिटो सम्पन्न गर्नेतर्फ आफूहरूको ध्यान रहेकाले अब कम्पनीले सर्वसाधारणका निम्ति शेयर (आईपीओ) जारी गर्नका निम्ति आवश्यक प्रक्रिया अगाडि बढाइसकेको देवकोटाको बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख