अबुवामा दरौँदी नदी जलविद्युत् आयोजना बन्ने


गोरखा: यहाँको गोरखा नगरपालिका–१३ स्थित अबुवामा नौ दशमलव ८४ मेगावाटको ‘दरौँदी नदी जलविद्युत् आयोजना’ निर्माण हुने भएको छ । मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले करिब रु दुई अर्ब २८ करोड लागतमा जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।
सो आयोजनाका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ भने वातावरण प्रभाव मूल्याङ्कन (इआईए) तयार भइसकेको छ । विद्युत् खरिद प्रक्रिया (पिपिए) पनि भइसकेको प्रवद्र्धक कम्पनी मनकामना दरौँदी हाइड्रोपावरले जनाएको छ ।
आयोजनाको प्रस्तावित बाँध अबुवा पुलबाट पाँचसय मिटरमाथि सतिढुङगामा निर्माण हुने डिपिआरमा उल्लेख छ । पावर हाउस भने तीनकिलो नजिकै रहेको सिमलगैरीमा निर्माण गरिने आयोजनाका सञ्चालक बलराम केसीले जानकारी दिए ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी २०८२ सालको सुरुवातसँगै आयोजनाको शिलान्यास गरिने उनले बताए । आयोजनाले १४ हेक्टर क्षेत्रफल ओगट्ने, जसमध्ये ६ हेक्टर जग्गाको मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने हुन्छ । हाल मुआब्जा दिने प्रक्रिया चलिरहेको उनले बताए ।
आयोजनाको ढाँचा ‘पिकिङ रन अफ दि रिभर’ (पिआरओआर) प्रकृतिको छ । विद्युत् प्राधिकरणका पूर्वकर्मचारी समाज आयोजनाका प्रवद्र्धक छन् । जसमध्ये डा डम्बरहादुर नेपालीको नेतृत्वमा नौ जनाको कार्यकारी टिम रहेको छ । नेपाल विद्युत् प्राधिकरणका सेवा निवृत्त कर्मचारीले आर्जन गरेको ज्ञान, सीप, दक्षता, अनुभव र पूँजीलाई विद्युत्कै क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित आयोजना विकास गरिएको कम्पनीले जनाएको छ ।
दुई वर्ष छ महिनाभित्र अर्थात सन् २०२७ जनवरीभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिसक्ने सो आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।
आयोजनाका लागि कूल बजेटको ३० प्रतिशत स्वपूँजी र बाँकी ७० प्रतिशत बैङ्कबाट कर्जामा लिने आयोजनाले जनाएको छ । पूँजी ३० प्रतिशतलाई सतप्रतिशत मान्दा त्यसको ७५ प्रतिशत लगानी प्रवद्र्धकले गर्ने छन् भने १५ प्रतिशत आइपिओ र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दाको सेयरबाट आयोजना निर्माण गर्ने प्रतिवेदनमा भनिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख