दुई महिनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं : चालू आर्थिक वर्ष २०८१÷८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।
साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ ।
भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए । ‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीबहिरोभन्दा पहिले दैनिक रुपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रुपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख