रोल्पा र सम्राट सिमेन्टले किस्तामा बक्यौता बुझाए


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली खपत गरेर बक्यौता नतिरेका लाइन काट्ने अभियान चलाएपछि रोल्पा सिमेन्ट र सम्राट सिमेन्टले हिजै किस्ता बुझाएर आफ्नो लाइन सुरक्षित राखेका छन् ।
नेपालगञ्ज डिभिजन कार्यालयका प्रमुख राजीवकुमार सिंहका अनुसार रोल्पा र सम्राट सिमेन्टले हिजो अपरान्ह तीन बजे किस्ता बुझाएका हुन् ।
प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनवालाहरुले २८ किस्तामा बक्यौता तिर्ने सुविधा दिने निर्णय गरेबमोजिम यी दुई उद्योगले किस्ताको सुविधा लिएको सिंहले बताए ।
सिंहका अनुसार सम्राट सिमेन्टको विद्युत् बक्यौता तीन करोड ७७ लाख ७३ हजार रुपैयाँ छ भने रोल्पा सिमेन्टको बक्यौता ९९ लाख १२ हजार रुपैयाँ छ ।
दाङको घोराही वितरण केन्द्रअन्तर्गत पर्ने घोराही सिमेन्टको डेडिकेटेड लाइन प्रयोग गरेबापतको बक्यौता ५० करोड ८५ लाख र सोनापुर मिनरल्स एण्ड आयलको विद्युत् बक्यौता २४ करोड २९ लाख रुपैयाँ छ ।
यी दुई उद्योगको लाइन काट्नुअघि आफूले पटक–पटक उद्योगको मालिकलाई नै फोन गरेर बक्यौता तिर्न अनुरोध गरेको पनि डिभिजन प्रमुख सिंहले बताए । ‘मैले बारम्बार फोन गरेर भनें कि किस्ता तिर्नुहोस् भनेर तर उहाँहरुले मान्नु भएन,’ सिंहले शुक्रबार जलसरोकारलाई बताए ।
प्राधिकरणले गत असोज २४ गते ४९ वटा उद्योगहरुको बक्यौता रकमसहित कात्तिक ८ गतेभित्र बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
यसअघि गत असार अन्तिम साता ठूलो बक्यौता रहेका ६ वटा उद्योगको लाइन प्राधिकरणले काटेपछि प्रधानमन्त्री केपी ओली प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग क्रुद्ध भएका थिए । त्यही बखत तीन महिनाभित्र बक्यौता बुझाउने गरी ‘हाललाई लाइन जोडिदिने’ निर्णय प्राधिकरण सञ्चालक समितिले गरेको थियो ।
तीन महिना बितिसक्दा पनि बक्यौता रहेका उद्योगहरुले अटेरी गरेपछि प्राधिकरणले सूचना जारी गरेर, टेलिफोन गरेर बक्यौता तिर्न आग्रह गरेको थियो ।
हिजो ऊर्जा मन्त्रालयमा भएको प्राधिकरण सञ्चालक समिति बैठकमा बक्यौताबारे औपचारिक निर्णय भएन । तर ऊर्जा मन्त्री दीपक खड्काले लाइन नकाट्न मौखिक निर्देशन दिएका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख