भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि रु. १ खर्ब ५२ अर्ब विनियोजन


काठमाडौं : सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि रु. १ खर्ब ५२ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।
१. आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माण गरी मुलुकको आर्थिक सामाजिक विकासलाई तीब्रता दिइनेछ। सुरक्षित र भरपर्दो आवागमनको लागि दिगो सडक सञ्जालको विस्तार गरिनेछ। द्रुतमार्ग, अन्डरपास र ओभरपास जस्ता आधुनिक पूर्वाधारहरूको निर्माणलाई तीब्रता दिइनेछ। राष्ट्रिय राजमार्गलाई आवश्यकताको आधारमा दुई लेनदेखि आठ लेनसम्मको गतियुक्त र सुरक्षित सडकमा स्तरोन्नति गर्दै लगिनेछ। सडकको नियमित मर्मत सम्भार गरी दिगोरूपमा सञ्चालन गरिनेछ।
२. आर्थिक, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका स्थानमा मात्र सडकका लागि नयाँ ट्र्याक खोल्ने नीति लिइनेछ। सडक पूर्वाधार निर्माण गर्दा सुरूङ्ग प्रविधिको प्रयोग विस्तार गर्दै लगिनेछ। आगामी आर्थिक वर्षमा नागढुंगा र सिद्धबाबा सुरूङमार्गको निर्माण सम्पन्न गर्न रु. २ अर्ब ६० करोड विनियोजन गरेको छु। वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ओभरपास र अण्डरपासजस्ता वन्यजन्तुमैत्री पूर्वाधार संरचना निर्माण गरिनेछ।
३. शहरी तथा संवेदनशील भू-बनोट भएका क्षेत्रमा गुणस्तरीय र दिगो सडक निर्माण गर्न सिमेन्ट, छड, गिट्टी र वालुवा प्रयोग गरी आरसिसि ढलान सहित कालोपत्रे गरिनेछ। यसबाट स्वदेशी निर्माण सामग्रीको खपत वृद्धि हुने र सडक पुर्वाधार टिकाउ हुने विश्वास गरेको छु ।
४. बन्द अवस्थामा रहेको काठमाडौँ-हेटौडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम छुट्याएको छु। पहाडी तथा हिमाली क्षेत्रमा केबुलकार सञ्चालनलाई प्रोत्साहन गरिनेछ। वीरेठाँटी-मुक्तिनाथ केबलकार निर्माण गर्न निजी क्षेत्रलाई सहजीकरण गरिनेछ।
५. आगामी दुई वर्षभित्र पूर्व पश्चिम राजमार्गको काकडभिट्टा-लौकही, कमला-कञ्चनपुर, कमला-बागमती, बागमती-पथलैया, वुटवल-नारायणगढ, वुटवल-गोरूसिङ्गे खण्डको ४२२ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गरिनेछ। पूर्व पश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया खण्ड स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा शुरू गरिनेछ। यसका लागि रु. २१ अर्ब १९ करोड विनियोजन गरेको छु।
६. आर्थिक वर्ष २०८२/८३ मा पर्यटन प्रवद्र्धन तथा आर्थिक क्रियाकलाप विस्तारका दृष्टिले उच्च सम्भावना रहेको सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डवल लेनमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ गरिनेछ।
७. यात्राको समय, लागत, दूरी र दुर्घटना घटाउन पुष्पलाल मध्यपहाडी राजमार्गको विद्यमान रेखाङ्कन परिमार्जन गरिनेछ। यस राजमार्गलाई सुरूङ र भायाडक्ट प्रविधि सहितको डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न पूर्व तयारी गरिनेछ। यसका लागि रु.३ अर्ब ९४ करोड विनियोजन गरेको छु।
८. हुलाकी राजमार्गको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी तराई मधेशको आर्थिक विकास तथा अन्तर आवद्धतालाई सुदृढ गरिनेछ। यसका लागि रु. ३ अर्ब ५६ करोड विनियोजन गरेको छु ।
९. काठमाडौँ-तराई मधेश द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गरिनेछ। आगामी वर्ष ३७ किलोमिटर सडकमा सबवेश, चार किलोमिटर सुरूङ्ग र ६० पुलको निर्माण कार्य सम्पन्न गरिनेछ। यसका लागि रू २४ अर्ब ४९ करोड विनियोजन गरेको छु ।
१०. पृथ्वी राजमार्गको नौविसे- मुग्लिङ्ग खण्डलाई डेडिकेटेड डवल लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइनेछ। आगामी आर्थिक वर्षमा आँबुखैरेनी-पोखरा सडक खण्ड चार लेनमा स्तरोन्नति कार्य सम्पन्न गरिनेछ। यसका लागि रू. ८ अर्ब ५२ करोड विनियोजन गरेको छु।
११. पूर्व पश्चिम राजमार्गदेखि तराई मधेशका जिल्ला सदरमूकाम हुँदै सीमावर्ती नाका जोड्ने रानी-इटहरी, वीरगञ्ज-पथलैया, वेलहिया-वुटवल, मोहनापुल-अत्तरिया लगायतका चार लेनका व्यापारिक मार्गको निर्माण सम्पन्न गरिनेछ।
१२. कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर निर्माण तथा स्तरोन्नतिको कार्यलाई तीब्रता दिइनेछ। आगामी आर्थिक वर्षमा कर्णाली कोरिडोरको हिल्सा- सिमकोट तथा खुलालु-पिलुचौर-तुम्च खण्डको सड़क स्तरोन्नति गरिनेछ। कर्णाली कोरिडोरको लागि रु १ अर्ब २७ करोड बजेट व्यवस्था गरेको छु।
१३. कोशी कोरिडोरको खाँदबारी-दोभानखण्ड र कालीगण्डकी कोरिडोरको स्तरोन्नति गर्न रु. २ अर्ब ३३ करोड विनियोजन गरेको छु। अरूण कोरिडोरको चतरा-लेगुवाघाट सडक ट्र्याक खोल्न बजेटको व्यवस्था गरेको छु।
१४. झापाको बाहुनडाँगीदेखि डडेल्धुराको रूपालसम्मका बस्ती र बजारलाई जोड्ने मदन भण्डारी राजमार्ग निर्माणका लागि रु. २ अर्ब ५१ करोड विनियोजन गरेको छु।
१५. अत्तरिया-खोड्पे-दार्चुला सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डवल लेनमा स्तरोन्नति गर्ने कार्य शुरु गरिनेछ। महाकाली करिडोर अन्तर्गत ब्रह्मदेव-झुलाघाट-तुसारपानी खण्डको स्तरोन्नति गर्न र तुसारपानी-टिंकर खण्डको ट्रयाक खोल्न आवश्यक बजेट छुट्याएको छु।
१६. कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-खुलालु-कालीकोट-जुम्ला सडक र सुर्खेत-महावुलेक-नाग्मा-गमगढी सडकलाई स्तरोन्नति गर्न बजेट व्यवस्था गरेको छु। ताल्चा-रारा सडक कालोपत्रे गरिनेछ। गल्छी-रसुवागढी सडक स्तरोन्नतिका लागि रु. २ अर्ब ५६ करोड विनियोजन गरेको छु।
१७. रणनीतिक तथा व्यापारिक महत्त्वका तमोर कोरिडोर, दमक-चिसापानी सडक, भेरी कोरिडोर, डुम्रे-बेशीशहर-चामे सडक, कक्रहवा-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक, शहीद मार्ग, रत्न राजमार्ग, राप्ती राजमार्ग, खुटिया-दिपायल लगायतका सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेको छु । काठमाडौं चक्रपथको कलंकी-बसुन्धरा-धोवीखोला सडक खण्डको स्तरोन्नति कार्यलाई निरन्तरता दिन रु. १ अर्ब २४ करोड विनियोजन गरेको छु।
१८. विपदबाट क्षतिग्रस्त बी.पी. राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग लगायत सडकको पुनर्निमाण गर्न आवश्यक बजेट विनियोजन गरेको छु। राष्ट्रिय राजमार्गमा पर्ने सडकपुल निर्माण गर्न रु. ३ अर्ब १८ करोड विनियोजन गरेको छु।
१९. निर्माणाधीन वैकल्पिक सहायक राजमार्ग र निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गतका आयोजनाहरूलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सिर्जित दायित्व फरफारक गरिनेछ। यसका लागि रु. २१ अर्ब ८ करोड विनियोजन गरेको छु।
२०. भौगोलिक अवस्थिति, जनसङ्ख्या, यातायातको चाप र लेन तथा लेन्थका आधारमा सडकको वर्गीकरण गरिनेछ। सवारी साधनको मापदण्ड तर्जुमा गरी सडक दुर्घटना न्यूनीकरण गरिनेछ। प्रमुख शहरहरूमा ट्राफिक संकेत चिन्ह र सडक बत्तीको व्यवस्था गरी सवारी चाप व्यवस्थित गरिनेछ ।
२१. सवारी प्रदूषण मापनका लागि आधुनिक प्रविधिको उपयोग गरिनेछ। काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइनेछ। सार्वजनिक यातायातको यात्रु चापलाई व्यवस्थित गर्न शहरी क्षेत्रमा मास ट्रान्सपोर्ट सञ्चालन गर्न प्रोत्साहित गरिनेछ।
२२. सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्रेस सेण्टर सञ्चालन गरिनेछ। सबै प्रकारका सवारी साधनको नियमित रूपमा फिटनेट टेष्ट हुनुपर्ने ब्यवस्था मिलाइनेछ। तेस्रो पक्ष बीमालाई समय सापेक्ष बनाउँदै लगिनेछ।
२३. विद्युतीय सवारी साधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहित गरिनेछ। निजी क्षेत्रलाई चार्जिङ्ग स्टेशन तथा वर्कसप निर्माण गर्न आकर्षित गरिनेछ।
२४. काठमाडौँ उपत्यका लगायत ठूला शहरमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ। सार्वजनिक यातायात प्राधिकरण सञ्चालनमा ल्याइनेछ। प्रदेशस्तरबाट सवारीचालक अनुमतिपत्र वितरण हुने व्यवस्था मिलाइनेछ।
२५. काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न मेट्रोरेल, मोनोरेल जस्ता विकल्पहरूको सम्भाव्यता अध्ययन गरिनेछ।
२६. अन्तर्राष्ट्रिय सीमा नाकाबाट अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन र हेभी इक्युपमेण्टमा प्रचलित कानूनबमोजिम भन्सार विन्दुमा महसुल संकलन गरेपश्चात प्रदेश र स्थानीय तहले थप शुल्क वा दस्तुर लिन नपाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
२७. अध्ययन सम्पन्न भएका सुरुङमार्गहरू दुम्कीबास-बर्दघाट, खुर्कोट-चियाबारी, बबई-छिन्चु, मझिमटार-शक्तिखोर, हेम्जा-नयाँपुल, कुलेखानी-भिमफेदी र धरान-लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइनेछ। टोखा-छहरे, शिवपुर-भालुवाङ, रानीघाट-भुरिगाउँ, दोलालघाट-चर्नावती र हात्तिसार-बबई सुरूङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ।
२८. आगामी वर्ष पूर्व पश्चिम राजमार्गलाई आधार मानी स्ट्याण्डर्ड गेज मापदण्डको विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरिनेछ। निर्माणाधीन वर्दिवास-निजगढ खण्डको रेलमार्गलाई पूर्व पश्चिम विद्युतीय रेलमार्गको मापदण्डअनुरूप बनाइनेछ। पूर्व पश्चिम रेलमार्ग निर्माण गर्ने प्रयोजनका लागि अधिग्रहण गर्न रोक्का राखिएको काकडभिट्टा-इटहरी खण्डको जग्गा फुकुवा गरिनेछ।
२९. आगामी आर्थिक वर्षमा काठमाडौँ-केरूङ्ग रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ। सीमावर्ती दक्षिण नाकाका न्यूजलपाइगुडी-काँकडभिट्टा, नौतनवा-भैरहवा र नेपालगञ्जरोड-नेपालगञ्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी शुरू गरिनेछ।
३०. सडक यातायात दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न राष्ट्रिय सडक सुरक्षा मापदण्ड निर्धारण गरिनेछ। प्रमुख राजमार्गमा शीघ्र उद्धारका लागि हेलिकप्टर, विशिष्टिकृत एम्बुलेन्स, ट्रमा उपचार लगायतका आपतकालीन सेवा उपलब्ध हुने व्यवस्था मिलाइनेछ।
३१. सम्भाव्यताको आधारमा अन्तर्देशीय जल यातायातको विकास, विस्तार र प्रवद्र्वन गरिनेछ। कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाहसम्मको जल यातायात सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ।
३२. आर्थिक वर्ष २०८२/८३ मा नागढुङ्गा, सिद्धबाबा र काठमाडौँ-तराई मधेश द्रुत मार्गमा पर्ने तीनवटा सुरूङ्ग मार्गको निर्माण सम्पन्न गरिनेछ। राष्ट्रिय गौरवका र प्रमुख सडक आयोजनामा थप ८५० किलोमिटर सडक कालोपत्रे र १७१ सडकपुल निर्माण सम्पन्न गरिनेछ।
३३. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि रु. १ खर्ब ५२ अर्ब विनियोजन गरेको छु।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्