विद्युत् प्राधिकरणले अध्ययन गरेको जावा तिला अर्धजलाशय आयोजना सस्तो (फोटो फिचरसहित)


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनअनुसार जुम्लामा पर्ने जावा तिला (७५ मेगावाट, अर्धजलाशययुक्त) को प्रतिमेगावाट लागत १७ करोड रुपैयाँ पर्ने देखिएको छ ।
हाल निजी क्षेत्रले निर्माण गरिरहेका कतिपय आयोजनाको प्रतिमेगावाट लागत २५ करोड रुपैयाँभन्दा माथि परेको छ ।
दैनिक ६ घण्टा पिकिङ (विद्युत्को अत्यधिक माग भएका बखत खपत हुने) सुविधा भएको उक्त आयोजनाको कुल लागत करिब १३ अर्ब रुपैयाँ पर्ने अध्ययनले देखाएको छ । आयोजना निर्माणका क्रममा घरखेत डुबानमा नपर्ने भएकाले पुनर्वास लागत अति न्यून हुन गई सस्तो देखिएको हो ।

यसको अध्ययन प्राधिकरणको आयोजना विकास विभागले गरिरहेको छ । विभागका अनुसार जुम्ला सदरमुकामदेखि तल तिला गुफा गाउँपालिकामा विद्युत् गृह र रारा लिही (तिला गाउँपालिकाकाे नगमा बजार नजिक) भन्ने ठाउँमा आयोजनाको मुहान रहने अध्ययनले देखाएको छ ।
आयोजनाबाट कुल वार्षिक ऊर्जा ३३ करोड युनिट हुने विभागले जनाएको छ । यसको प्रवेश मार्ग बनिबनाउ रहेको र विद्युत् गृहसम्मै कालोपत्रे सडक विद्यमान रहेको छ । मुहान (हेडवर्क्स) मा जाने २ किलोमिटर बाटो भने बनाउनु पर्नेछ ।

प्राधिकरणले यो आयोजनाको सर्वेक्षण अनुमति पत्र २०८० साल असोजमा लिएको थियो । विभागका अनुसार यसको सर्वेक्षणको काम पूरा भएको छ । यसको जलविज्ञान मापन कार्य पूरा भई हाल भौगर्भिक अन्वेषणको काम भइरहेको छ । हाललाई तीन किलोमिटर इआरटी (भूकम्पीय जोखिम अध्ययन) र भौगर्भिक मापन काय पनि पूरा भएको आयोजनाले जनाएको छ ।
त्यसैगरी यसको ४ सय मिटर भौगार्भिक उत्खनन (ड्रिलिङ) कार्य बाँकी छ । वातावरणीय अध्ययन कार्य पनि सुरु हुन लागेको जानकारी विभागले दिएको छ ।

प्रतिसेकेण्ड ५० घनमिटर पानी उपयोग हुने यो आयोजनाको बाँधको उचाई जम्मा १८ मिटर मात्र हुने अध्ययनले देखाएको छ । हाल जुम्लामा निर्माणाधीन सवस्टेशन वा दैलेख लगेर यसको बिजुली जोडिने योजना छ ।
यसको सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन कार्य आगामी दुई वर्षमा पूरा गर्न प्राधिकरणको लक्ष्य छ ।
यो आयोजना निर्माण भएमा जुम्ला मात्र नभई सिंगो कर्णाली प्रदेशको आर्थिक विकास हुने अपेक्षा गरिएको छ ।

हाल काेहलपुरदेखि सुर्खेतसमम ६६ केभी र सुर्खेतदेखि जुम्लासम्म ११ केभी प्रसारण लाइनमार्फत बिजुली वितरण गरिएकाले भाेल्टेज कम भई जुम्लावासी गुणस्तरीय विद्युत् पाउन बञ्चित छन् ।


लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख