विद्युत् महसुल तिर्न वातानुकूलित काउन्टर सञ्चालन


कञ्चनपुर: नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ ।
केन्द्रको हालै बनेको आधुनिक भवनभित्र सञ्चालनमा ल्याइएको काउन्टरमा चारवटा एयर कण्डिसन (एसी) जडान गरिएको छ । केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार गर्मीयाममा लामो समयसम्म पालो पर्खनुपर्ने बाध्यता अन्त्य गर्न सुविधाजनक वातावरणमा महसुल बुझाउने व्यवस्था मिलाइएको हो ।
“पहिले गर्मीका कारण सेवाग्राहीलाई असुविधा हुने गथ्र्यो, अहिले भने वातानुकूलित कोठामा सहजै पालो पर्खेर महसुल बुझाउन सक्ने भएका छन्,” श्रीवास्तवले बताए । उनका अनुसार यस कदमले कर्मचारीलाई पनि काम गर्न उत्साहजनक वातावरण उपलब्ध गराएको छ ।
सेवाग्राहीको भीड नियन्त्रण गर्न र सेवा प्रवाहलाई व्यवस्थित बनाउन काउन्टरमा टोकन प्रणाली लागू गरिएको छ । यसमार्फत ग्राहकले अनावश्यक समस्या र अवरोध बिना पालोअनुसार शान्तिपूर्वक महसुल बुझाउन सक्ने व्यवस्था गरिएको छ ।
वितरण केन्द्रअन्तर्गत हाल ७९ हजार ग्राहक छन् । तीमध्ये करिब ४० हजारले महेन्द्रनगरको महसुल काउन्टरमार्फत महसुल बुझाउँदै आएका छन् । बाँकी सेवाग्राहीलाई सहज बनाउन झलारी, गुलरिया र दोधारा–चाँदनीमा पनि आय सङ्कलन काउन्टर सञ्चालन गरिएको छ ।
प्राधिकरणले पछिल्ला वर्षमा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ भवन, आधुनिक प्रविधि र व्यवस्थापकीय सुधार गर्दै आएको छ । वातानुकूलित महसुल काउन्टर सञ्चालनलाई पनि सोही अभियानको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।
स्थानीयवासीले अब विद्युत् महसुल बुझाउन सहज हुने र समय बचत हुने अपेक्षा व्यक्त गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन