कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ

जलसरोकार
मंगलबार, असोज २८, २०८२ | ०९:३१:४२ बजे

 

इलाम,: मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुन सकेको छैन । दस दिन बित्दासमेत वैकल्पिक मार्ग सञ्चालनमा नआएपछि यात्रु र यातायात व्यवसायी सास्तीमा परेका छन् ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ। तर खोलामा पानीको उच्च बहाव र ह्युमपाइपको अभावका कारण तत्काल सडक सञ्चालन गर्न नसकिएको उनले बताए ।

“हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो, अहिले जोगमाई खोलामा डाइभर्सन निर्माण भइरहेको छ,” भट्टराईले भने, “तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ ।” उनका अनुसार पाँचथरबाट ह्युमपाइप ल्याइँदै छ, जसले मङ्गलबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ। डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारवालासँगको स्थलगत निरीक्षणपछि तिल्केनी–सिमलगोलाइ सडक वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद नेपालले भने, “सकेसम्म चाँडो सडक खुलाउने प्रयास भइरहेको छ, प्राविधिक पक्ष सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ ।”

गत असोज १८ गतेको बाढीले बेलीब्रिज बगाएपछि इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध बनेको हो । गत असारमा निर्माण सम्पन्न गरिएको उक्त पुल बाढीले बगाएपछि इलाम सदरमुकामबाट राजदुवालीतर्फको आवागमन ठप्प भएको हो ।

हाल साना सवारीसाधनहरू तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्गमार्फत सञ्चालनमा छन् । तर ठूला तथा मालवाहक सवारीका लागि उपयुक्त वैकल्पिक बाटो अहिलेसम्म पहिचान गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए ।  तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।

वर्षासँगै आएको पहिरोका कारण इलाम जिल्ला विगत १० दिनदेखि छिमेकी झापा जिल्लासँग सडक सञ्जालबाट विच्छेद भएको छ । इलाम–राजदुवाली सडकखण्ड अबरुद्ध हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रुहरूलाई अत्यधिक समस्या भएको छ। जटिल भौगोलिक संरचनाका कारण सडक तत्काल खुलाउन नसकिने सडक डिभिजन प्रमुख भट्टराईले बताए । 

प्रकाशित मिति : मंगलबार, असोज २८, २०८२ | ०९:३१:४२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया