सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्

जमानत रकम रोकाउन स्वयं ऊर्जा मन्त्री खड्का ज्यान फालेर लागे

जलसरोकार
बुधबार, भदौ ०४, २०८२ | १७:४९:५७ बजे

काठमाडौं : प्रभु, प्राइम र कुमारी बैंकले सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेकेदार पटेल रमणसँगको मिलेमतोमा आयोजनाले राखेको बैंक ग्यारेन्टी फिर्ता नदिएको पाइएको छ ।
ठेकेदार रमण पटेल जेभीले काठमाडौं जिल्ला अदालतमा बैंक ग्यारेन्टी जफत गर्न प्रभु बैंकलाई पत्र लेख्न रोकाउन मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतले गत जेठ २ गते ठेकेदार पटेल रमणको मागलाई अस्वीकार गरिसक्दा पनि प्रभु बैंक, प्राइम बैंक र कुमारी बैंकले आयोजनाको बैंक ग्यारेन्टी नदिएका हुन् । 
अदालतले गरेको फैसलामा छ,  ‘नेपाल सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय बहुउद्देश्यीय आयोजनामा व्यवहाररत अवधिगत हिसामा कार्य प्रगति हुन नसकेको देखिरहेको अवस्थामा प्रत्यर्थी आयोजनाले निवेदकलाई सजग र जिम्मेवार बनाउन कानुनतः बैंक ग्यारेन्टी जफतका लागि पत्र लेख्न प्रत्यर्थी बैंकलाई सक्ने नै हुँदा सुविधा र सन्तुलनको दृष्टिकोण समेतबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन ।’
आयोजना र पटेल रमणबीच २०७९ पुस १७ गते निर्माण सम्बन्धी सम्झौता भएको थियो । सम्झौतामा ठेकेदारले २०८४ साउन ११ गतेभित्र सम्पन्न गर्नुपर्ने सशर्त मिति रखिएको थियो । तर हालसम्म साढे दुई वर्षभन्दा बढी व्यतीत भइसक्दा पनि ९ प्रतिशत मात्र काम पूरा गरेको भन्दै आयोजनाले विभागीय निर्णय गरी प्रभु बैंकसहित प्राइम र कुमारी बैंकलाई ठेकेदारको जमानत जफत गर्न पत्राचार गरेको थियो ।
तीनवटै बैंकले अदालतको आदेश हुँदासमेत जमानत फिर्ता दिएका छैनन् । आयोजनाले यी तीन बैंकसँग ६० करोड रुपैयाँ जमानत फिर्ता लिन पत्राचार गरेको थियो । प्रभु बैंकले २० करोड, प्राइम बैंकले ३० करोड र कुमारी बैंकले १० करोड रुपैयाँ कानुनविपरीत रोकेका छन् ।
आयोजना स्रोतका अनुसार ठेकेदार पटेल रमण जेभीले आयोजनाबाट लगेको पेश्कीबापतको रकम अन्यत्र खर्च गरेकाले साइटमा निर्माण कार्य हुन नसकेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५२क (६) अनुसार लिएको पेश्क सम्बन्धित काममा प्रयोग भएको नपाइएमो अग्रिम बैंक जमानत जफत हुने व्यवस्था छ । 
तर ठेकेदारले आयोजनाबाट ऊर्जा तथा सिंचाई मन्त्री दीपक खड्कामार्फत दबाब दिन लगाएर २ अर्ब रुपैयाँ भुक्तानी पाइसकेको छ । १४ अर्ब रुपैयाँको उक्त ठेक्कामा ९ प्रतिशत मात्र काम गरेको ठेकेदारले १४ प्रतिशत भुक्तानी पाएको हो । ‘उपरोक्त तथ्यले पेश्की भुक्तानीअनुसार काम भयो भन्नेमा प्रश्न चिन्ह खडा भएकै देखिन्छ,’ काठमाडौं जिल्ला अदालतको फैसलामा छ, ‘समयको अवधिगत हिसाबले समेत झन्डै ५० प्रतिशत काम हुनुपनेमा हालसम्म ९ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।’
गत वर्ष (असोज १०) को अकल्पनीय वर्षा भई केही क्षति हुन गएकाले काम गर्न नसकिएको ठेकेदारको दलीललाई पनि अदालतले खारेज गरिदिएको छ । ‘तुलनात्मक रपमा त्यसलाई मात्र आधार ग्रहण गर्न मनासिब देखिएन,’ अदालतले भनेको छ । 
सुनकोशी–मरिन डाइभर्सन आयोजनाले यी बैंकहरुले रकम फिर्ता नगरेपछि बैंकहरुका नियामक निकाय राष्टङ बैंकलाई पनि गुहारेको थियो । राष्ट्र बैंकलाई लिखित रुपमा उजुरी गर्दा पनि उसले सुनुवाई नगरेको आयोजना स्रोतले बतायो ।
मन्त्रालय स्रोतका अनुसार ऊर्जा मन्त्री खड्काले यी तीनैजना सीइओहरुलाई बालुवाटार लगेर रकम फिर्ता नगर्न दबाब दिएका थिए । मन्त्री खड्काले सिंचाई विभाग र आयोजनाका कर्मचारीहरुलाई जमानत जफत गर्ने पत्र फिर्ता लिन पनि दबाब दिइरहेका छन् । 
हालका प्रधानमन्त्री केपी ओली नै २०७७ फागुन २० गते यो आयोजनाको शिलान्यास गरेका थिए । 
यस सम्बन्धमा सम्बन्धित बैंकका सीइओहरु सम्पर्कमा आउन चाहेनन् ।


 

प्रकाशित मिति : बुधबार, भदौ ०४, २०८२ | १७:४९:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया