कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊजामन्त्री घिसिङ र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता, नागढुंगा सुरुङदेखि बूढीगण्डकीसम्मकाे छलफल

जलसरोकार
शुक्रबार, असोज १०, २०८२ | १३:५७:५१ बजे

 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा राजदूत तोरुले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटमा नेपाल–जापानबीचको दीर्घकालीन सहकार्य, जापानले नेपाललाई उपलब्ध गराउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, र हाल सञ्चालित आयोजनाको प्रगतिबारे छलफल गरिएको थियो ।

यस क्रममा नागढुंगा सुरुङ निर्माण, विपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना, कोटेश्वर चोक सुधार, तथा विद्युत् प्रसारण र वितरण प्रणाली सुधारलगायतका आयोजनामा आवश्यक सहयोगबारे विचार–विमर्श भएको थियो ।

मन्त्री घिसिङले जापानको सहायताप्रति धन्यवाद ज्ञापन गर्दै विद्युत् क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाट क्षमताको दूधकोशी, १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी तथा काठमाडौं उपत्यकाको दीर्घकालीन शहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीमा सहयोग गर्न आग्रह गरे ।

राजदूत तोरुले नेपालका रणनीतिक महत्वका ठूला आयोजना तथा प्राथमिकताप्राप्त क्षेत्रमा जापान सहयोग गर्न सधैं तयार रहने आश्वासन दिए । 

प्रकाशित मिति : शुक्रबार, असोज १०, २०८२ | १३:५७:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया