कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

वर्षा र बाढीपहिरोबाट खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिदै

जलसरोकार
बिहीबार, असोज २३, २०८२ | ०९:३६:२२ बजे

 

काठमाडौँ : हालैको अविरल वर्षाका कारण देशभरका खानेपानीमा पुगेको क्षतिको विवरण सङ्कलन कार्य सुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले सातै प्रदेशका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

विभागका महानिर्देशक ई. कमलराज श्रेष्ठका अनुसार देशभर रहेका १५ वटा कार्यालयलाई बाढीपहिरोले पु¥याएको क्षतिको विवरण संकलन गरी विभागमा पठाउन परिपत्र गरिएको छ । साथै, सम्बन्धित क्षेत्रमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि आफ्नो आयोजनामा भएको क्षतिको विवरण कार्यालयमा पठाउन आग्रह गरिएको छ ।

महानिर्देशक श्रेष्ठले सङ्कलित विवरणलाई आधार बनाई तत्कालीन राहतका साथै दीर्घकालीन पुनःस्थापनाको योजना तयार गरिने जानकारी दिए । उनका अनुसार विशेषगरी इलाम र तराईका केही जिल्लामा खानेपानी संरचना बढी प्रभावित भएका छन् । सङ्कलनपछि प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनःस्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्नेछ ।

विभागका अनुसार असोज १८ र १९ गतेको लगातारको वर्षाले पहाडी र भिरालो भू–भागका धेरै खानेपानी स्रोत र वितरण प्रणालीमा गम्भीर असर पु¥याएको छ । कतिपय स्थानमा पाइपलाइन बगाएको, इन्टेक संरचना भत्किएको, जलाशय ट्याङ्की माटो–ढुङ्गाले पुरिएको, मोटर पम्प डुबानमा परेको र सरसफाइ उपकरणहरू क्षतिग्रस्त भएका छन् ।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षा र बाढीपहिरोबाट खानेपानी क्षेत्रमा चार अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो ।

प्रकाशित मिति : बिहीबार, असोज २३, २०८२ | ०९:३६:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया