बैतडीको दुर्गम गाउँमा विद्युत् सेवा विस्तार


बैतडी: बैतडी जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा लामो प्रतीक्षापछि विद्युत् सेवा विस्तार भएको छ। गाउँपालिकाको वडा नं २ शर्माली र वडा नं ३ सौगडामा नेपाल विद्युत् प्राधिकरणले ११ केभी लाइनमार्फत बिजुली पु¥याएपछि स्थानीयवासीको जीवनशैलीमा परिवर्तनको अपेक्षा गरिएको छ ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शर्मालीका ५८ घरमा हालै मात्र बिजुली पुगेको हो । “यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक दिन हो,” अध्यक्ष साउदले भने, “अब गाउँमा उज्यालो मात्र होइन, आर्थिक गतिविधि पनि बढ्नेछ ।” सौगडामा पनि धमाधम विद्युतीकरण भइरहेको र केही दिनमै सबै घरधुरीमा बिजुली पुग्ने उनले बताए ।
यसअघि शिवनाथ गाउँपालिकाको वडा नं ५ र ६ मा बिजुली पुगेको थियो भने बाँकी वडा नं १ र ४ मा चाँडै नै काम सुरु हुने योजना छ। “हामी बाँकी वडा विद्युतीकरणलाई प्राथमिकतामा राखेर तत्काल काम थाल्छौं,” अध्यक्ष साउदले थपे।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलका अनुसार विद्युतीकरणका लागि ११ केभी प्रसारण लाइन विस्तार गरिएको हो। “भौगोलिक कठिनाइका कारण काम चुनौतीपूर्ण भए पनि स्थानीयको सहयोगले लक्ष्य पूरा गर्न सक्यौं,” पौडेलले भने।
विद्युत् सेवासँगै गाउँमा अन्न कुट्ने–पिस्ने मिल सञ्चालनमा आएका छन्, जसले स्थानीयलाई समय र श्रम दुवै बचत गराइरहेको छ। यसअघि लामो दूरी पैदल वा घोडा–खच्चडमार्फत धान, गहुँ, मकै पीस्न लैजानुपर्ने बाध्यता थियो ।
विद्युत् विस्तारले ग्रामीण उद्यमशीलतामा पनि टेवा पु-याउने अपेक्षा गरिएको छ । स्थानीय युवाहरूले अब टेलरिङ, वेल्डिङ, फोटोकपी, इन्टरनेट सेवा, र चिस्यान गोदामजस्ता साना व्यवसाय सुरु गर्ने तयारी गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन