कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

टेम्केमैयुङका दुर्गम बस्तीमा केन्द्रीय विद्युत् विस्तार

जलसरोकार
आइतबार, असोज ०५, २०८२ | १२:३१:३७ बजे

 

भोजपुर: भौगोलिक रूपमा विकट मानिने टेम्केमैयुङ गाउँपालिकाका दुर्गम बस्तीहरूमा केन्द्रीय विद्युत् सेवा पुगेसँगै स्थानीयवासीको दैनिकीमा उल्लेखनीय परिवर्तन आएको छ ।

विद्युत् विस्तार भएपछि यहाँका बासिन्दाले अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य गर्दै आधुनिक जीवनशैलीतर्फ कदम बढाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत बिजुली बलेपछि स्थानीय अत्यन्त हर्षित भएका छन् ।

स्थानीयवासी रामबहादुर राईले विद्युत् विस्तारले गाउँमा सहजता आएको बताउँदै भने, “भौगोलिक रूपमा विकट भए पनि सुविधा विस्तार हुँदा जीवनयापन सजिलो भएको छ । अब अँध्यारोमा बस्नुपर्ने बाध्यता छैन ।”

यस्तै, बलिराज राईले विद्युत् विस्तारले सूचना तथा सञ्चारको पहुँचमा गाउँ जोडिएको जनाउँदै टेलिभिजन, इन्टरनेट लगायतका सुविधा उपयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनका अनुसार बालबालिकाले उज्यालोमा सजिलै पढ्न पाउने भएकाले शिक्षा क्षेत्रमा समेत सकारात्मक असर परेको छ ।

गाउँपालिकाको केन्द्र अन्नपूर्ण र अन्य बस्तीमा पुग्न अझै पनि तीनदेखि चार घण्टासम्म जङ्गलको बाटो हिँड्नुपर्ने चुनौती रहे पनि विद्युत् सेवाले गाउँ उज्यालो बनेको छ ।

एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको टेम्केमैयुङ गाउँपालिकाका सबै नौ वडामा विद्युत् सेवा विस्तार भइसकेको गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : आइतबार, असोज ०५, २०८२ | १२:३१:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया