कृषिमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्नेमा विज्ञहरूको जोड


काठमाडौँ – देशको कृषि क्षेत्रको उत्पादन बढाउन नवीकरणीय ऊर्जा विकासमा जोड दिनुपर्ने यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ९एईपीसी० र नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकन) ले आइतबार एकाइसौँ राष्ट्रिय धान दिवसको अवसरमा नवीकरणीय ऊर्जा र कृषिका लागि ऊर्जा दक्षता भन्ने विषयवस्तुमा छलफलका क्रममा यसमा जोड दिइएको हो ।
केन्द्रमा आयोजित कार्यक्रममा ऊर्जा विज्ञ, सरकारी अधिकारीहरू र वैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील निजी क्षेत्र तथा उद्यमी लगायतले कृषि क्षेत्रमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रविधिको एकीकरण गरी उत्पादकत्व र दिगोपनामा जोड दिइयो । आयातित खाद्य पदार्थमा निर्भरता घटाउन र खाद्य सुरक्षा सुनिश्चित गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षता महत्त्वपूर्ण रहेको अधिकांशको भनाइ थियो ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कृषि क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षताका उपाय खोज्न निरन्तर छलफल र विचार विमर्श गरिनु आवश्यक रहेको बताए । ‘नवीकरणीय ऊर्जालाई सिँचाइ र बाली व्यवस्थापनबाहेक कृषि उत्पादन ढुवानी र लामो समयसम्म भण्डारण गर्न पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने,'नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन ल्याउन सरकारबाट आवश्यक तयारी भइरहेको र यस सम्बन्धी समस्यालाई सम्बोधन गर्न संसदको चलिरहेको बैठकमा यससम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ '
यसैगरी, रिकनका अध्यक्ष गुणराज ढकालले नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगको महत्त्वबारे प्रकाश पारेका थिए । कृषिका लागि नवीकरणीय ऊर्जा प्रविधिका संवन्धमा केन्द्र र परिसंघको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । केन्द्रकी उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठले कृषिका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्न तथा ऊर्जा दक्षताका उपायहरूका लागि केन्द्रले उल्लेखनीय योगदान गर्दै आएको र निजी क्षेत्रका साथ सहकार्य गर्दै कृषि क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताइन् ।
कार्यक्रमको समापनमा पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साहले सबन्धित निकायहरूले प्रदेश तथा स्थानीय स्तरमा पनि कृषिका लागि नवीकरणीय ऊर्जा प्रविधि तथा ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि र सचेतनाका लागि परिचयात्मक कार्यक्रमहरू सञ्चालन गर्नु उपयुक्त हुने बताए । कार्यक्रममा शेखर अर्याल, सुशील ज्ञवाली, के. आर खनाल, डा. शान्तिकला सुवेदी, सुनिता न्हेमफुकी, सुहृद चापागाईं लगायतले नवीकरणीय ऊर्जा विकास र यसले कृषि विकासमा पुर्याउने योगदानका विषयमा चर्चा गरेका थिए ।
छलफल कार्यक्रममा इमीबाट शिशिर श्रेष्ठ, प्राक्टिकल एक्सनबाट मिनविक्रम मल्ल तथा एग्रडाइरेक्टका सुबास श्रेष्ठले सिँचाइका लागि सौर्य ऊर्जाको प्रयोग, नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षताका विषयमा प्रस्तुति दिएका थिए ।
कृषिलाई जलवायु मैत्री तुल्याउन वातावरणीय सन्तुलनका पक्षहरूमा गम्भीर भई कृषि उत्पादन गर्ने प्रविधिको अभ्यास गर्नु हो । यसका लागि सिँचाइमा दक्षता बढाउने र पानीको खपत घटाउने, जैविक खेतीः रासायनिक मल र विषादीको सट्टा जैवीक मल र जैविक कीटनाशकको प्रयोग गर्ने एवम् माटोको उर्वरा शक्ति संरक्षण गर्न आवश्यक रहेको लगायत विषयमा चर्चा गरिएको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्