कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

स्थानीय वायु सक्रिय, आज पनि पानी पर्ने सम्भावना

जलसरोकार
बिहीबार, असोज ०९, २०८२ | ०९:२९:२९ बजे

 

काठमाडौं: स्थानीय वायु सक्रिय भएकाले आज (असोज ९ गते) पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्म व्यापक वर्षा भएपनि गएरातिदेखि पानी कम भएको थियो । तर, आज फेरि धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसमविद हरिप्रसाद दाहालका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्छ । त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा पनि पानी पर्ने सम्भावना छ । उनले खण्डित रुपमा एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने बताए ।

दाहालका अनुसार असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने नयाँ मौसमी प्रणाली विकसित भएको छ जसको आंशिक असर नेपालमा पर्नसक्ने देखिएको छ । उक्त प्रणालीको बढी प्रभाव बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालय क्षेत्रमा पर्ने भए पनि नेपालको पूर्वी भूभागमा आंशिक असर पार्ने सम्भावना रहेको उनले जानकारी दिए ।

‘हामी उक्त प्रणालीलाई नजिकबाट नियालीरहेका छौं,’ दाहालले भने, ‘यसको प्रभाव नेपालमा कस्तो पर्छ भन्नेबारे अध्ययन भइरहेको छ ।’

उनका अनुसार दशैंको समयमा मौसम कस्तो रहनेछ भन्नेबारे निकट भविष्यमा विशेष बुलेटिन जारी गरिनेछ ।
‘एक–दुई दिनमै हामी दशैं विशेष बुलेटिनमार्फत सम्भावित मौसमी अवस्थाको जानकारी दिनेछौं,’ उनले भने ।

प्रकाशित मिति : बिहीबार, असोज ०९, २०८२ | ०९:२९:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया