सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत् प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी

जलसरोकार
आइतबार, भदौ ०१, २०८२ | १४:५९:०२ बजे

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।

आइतवार विद्युत् प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।

“विद्युत् प्राधिकरण र इप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा, एकमात्र विद्युत् खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरणले खपतवृद्धि, निर्यातवृद्धि र उत्पादनवृद्धिमा लाग्नुपर्ने हो,” डाँगीले भने, “तर बिडम्बना, विद्युत् प्राधिकरणको ध्यान विद्युत् उत्पादन कसरी रोक्ने, पीपीए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत् कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीहरूलाई कसरी पेलेर बहादुरी देखाउने भन्नेमा रहेको देखिन्छ । यो सोचमा परिवर्तन हुनु जरुरी छ ।”

ऊर्जा आयोजनामा सानाठूला लगानीकर्ताहरू गरी करिब ६५ लाख लगानीकर्ता आवद्ध भइसकेकोले, ऊर्जा क्षेत्रका कुनै पनि नीति-नियम परिवर्तन गर्दा वा शेयर बजारका नीति-नियम परिवर्तन गर्दा यी ६५ लाख लगानीकर्ता मात्र नभई मतदाता पनि हुन् भन्ने कुरा सबै राजनीतिक दलहरूले बुझ्नुपर्ने बेला आइपुगेको उनले बताए ।

नेपाली भएका नाताले सबैको पहिलो उद्देश्य नेपालकै हितमा हुनुपर्ने भन्दै डाँगीले एकअर्कालाई असहयोग गरेर बहादुरी देखाउन समय खर्च नगरी, सो समय देशभित्र खपत बढाउन, प्रसारण लाइन बनाउन, विद्युत् उत्पादन बढाउन र निर्यात बढाउनमा खर्च गर्नुपर्नेमा जोड दिए ।


विद्युत् प्राधिकरण र निजी क्षेत्रको योगदान बराबरी

गत आर्थिक वर्षदेखि नेपाल खुद विद्युत् निर्यातकर्ता देश बनेको र ७५३ स्थानीय तहमध्ये ७३४ अर्थात् ९७.५ प्रतिशत पालिकामा विद्युत् पुर्‍याउनमा प्राधिकरणको जति योगदान छ, त्यसमा निजी क्षेत्रले उत्पादनमा पुर्‍याएको योगदान पनि कुनै कोणबाट कम नभएको डाँगीले स्पष्ट पारे ।

“२०५५ सालमा विद्युत् खरिद-विक्री दर (पीपीए) फाइनल भएपछिका २५ वर्षमा तत्कालीन अवस्थामा २५४ मेगावाट उत्पादन रहेको अवस्थामा अहिले ३६०० मेगावाट पुर्‍याउँदै खुद निर्यातकर्ता बन्नु होस् वा ७३४ स्थानीय तहमा विद्युत् पहुँच पुर्‍याउनु होस्, निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ,” उनले भने ।


१५ हजार मेगावाट निर्यातबाट वार्षिक ७ खर्ब आय

नेपाल सरकारले लिएको लक्ष्यअनुसार २८ हजार ५०० मेगावाट उत्पादन पुर्‍याई १५ हजार मेगावाट निर्यात गर्न सके वार्षिक ५ देखि ७ खर्ब रुपैयाँ देशमा ल्याउन सकिने डाँगीको भनाइ थियो । साथै हालको वार्षिक ४०० किलोवाट प्रतिव्यक्ति विद्युत् खपतलाई १५०० किलोवाट पुर्‍याई १३ हजार ५०० मेगावाट खपत गर्न सके, हालको अर्थतन्त्र करिब ४ गुणाले वृद्धि हुने उनले बताए ।

उनले जलविद्युत् लगानी अनुत्पादक नभएको उल्लेख गर्दै विद्युत् उत्पादन भएपछि सरदर वार्षिक प्रतिमेगावाट ३ करोडका दरले आय हुने र आगामी १० वर्षसम्म वार्षिक २५०० मेगावाट विद्युत् उत्पादन गर्न सके करिब ४५ खर्ब लगानीयोग्य रकम आर्जन भई, सोही रकमले नेपाल सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे ।


३५०० मेगावाट निर्यात गर्न संरचना तयार

अहिले भएका प्रसारण संरचनाबाट मात्रै ३५०० मेगावाट विद्युत् निर्यात गर्न सकिने डाँगीले बताए ।
“वर्तमान अवस्थामा नेपालले उत्पादित विद्युत् ढल्केबर-मुजफ्फरपुर ४०० केभिएबाट १००० मेगावाट, पाँच वटा १३२ केभिए प्रसारण लाइन (कुशाहा-कटैया, रक्सौल-परवानीपुर, गण्डक-रामनगर, टनकपुर-महेन्द्रनगर र सम्पतिया-मैनहिया) बाट ५०० मेगावाट र अरुण तेस्रोको प्रसारण लाइनबाट करिब २००० मेगावाट गरी ३५०० मेगावाट भारत निर्यात गर्न सक्ने क्षमता भए पनि उत्पादन त्यत्तिको नभएको” उनले उल्लेख गरे ।

देशका विभिन्न ठाउँमा रहेका प्रसारण लाइनका बोटलनेकहरू हटाउन निजी क्षेत्र संलग्न भई निर्माण कार्य भइरहेको र थप योगदान गर्न तयार रहेको पनि उनले प्रष्ट पारे ।

वरिष्ठ उपाध्यक्ष डाँगीले ऊर्जामन्त्री दीपक खड्कालाई विद्युत् प्राधिकरणसँग सम्बन्धित समस्याहरू तथा अन्य ऊर्जा क्षेत्रका समस्या समाधानका लागि विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको अनुमतिपत्र निजी क्षेत्रलाई दिएर स्व. शैलजा आचार्यजस्तै इतिहास रच्न आग्रह गरे ।

प्रकाशित मिति : आइतबार, भदौ ०१, २०८२ | १४:५९:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया