प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएपछि पावर समिट–२०२५ को मिति सारियो
अब २९–३० असोजमा सोल्टी होटलमा आयोजना हुने

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) द्वारा आयोजना गरिने बहुप्रतिक्षित ऊर्जा सम्मेलन पावर समिट–२०२५ को मिति सारिएको छ। संस्थाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको समिट अब २०८२ साल असोज २९ र ३० गते (अक्टोबर १५-१६, २०२५) मा सोल्टी होटल, काठमाडौंमा आयोजना हुने जानकारी दिएको छ।
यसअघि असोज १ र २ गतेका लागि तय गरिएको समिटको मिति प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएपछि परिवर्तन गरिएको हो। भ्रमणमा इप्पानका पदाधिकारीहरु पनि सहभागी हुने भएकाले समिटको मिति सारिएको इप्पानले जनाएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, समिटको नयाँ मितिमा अरू सबै कार्यक्रम तथा एजेण्डा यथावत् रहनेछन्। “Mission 28,500 MW: Powering Nepal, Energizing Region” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो नवौं संस्करणको समिट सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र–२०८१ कार्यान्वयनमा सहयोग गर्ने उद्देश्य राखिएको छ।
समिटमा ३० भन्दा बढी देशका लगानीकर्ता, कुटनीतिक नियोग, विकास साझेदार, नीति निर्माता, विज्ञ, निर्माण व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ। साथै, ऊर्जा क्षेत्रमा क्षेत्रीय व्यापार, उत्पादन वृद्धि, हरित ऊर्जा रणनीति लगायतका विषयमा नीतिगत छलफल हुनेछ।
इप्पानले समिटलाई भव्य र सफल बनाउन सबै सरोकारवाला निकाय तथा सहभागिहरुलाई नयाँ मितिमा समेत पूर्ववत् साथ र सहभागिता जनाउन आग्रह गरेको छ। इप्पानका अनुसार, समिट नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको संरक्षकत्वमा आयोजना हुँदैछ भने भारतीय राजदूतावास कन्ट्री पार्टनर रहनेछ। प्रधानमन्त्रीबाट समिट उद्घाटन गराउने तयारी समेत गरिएको छ।
इप्पानले यस मिति परिवर्तनबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आगामी समिटलाई राष्ट्रिय र क्षेत्रीय ऊर्जा समृद्धिको महत्वपूर्ण मञ्च बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्