पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी


स्याङ्जा: यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।
गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी सङ्कलन गर्न रु २० लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्राविधिक शिवराज थापाले जानकारी दिए ।
“वर्षौंदेखिको पुरानो माटे पोखरीमा पानी सङ्कलन गरेर खेतीपातीमा कृषकले प्रयोग गर्दै आएका छन्” उनले भने, “माटे पोखरीमा पानी सङ्कलन गर्दा नअडिने, चुहिएर समस्याबाट सास्ती खेपेका कृषकलाई पोखरी पक्की बनेपछि सहज हुने छ ।”
पोखरी १६ मिटर लम्बाइ, आठ मिटर चौडाइ र डेढ मिटर उचाइको छ । पोखरीमा दुई लाख २५ हजार लिटर पानी सङ्कलन गर्न सकिन्छ । कृषकलाई पानी आवश्यक हुँदा खोल्नका लागि ‘गेटबल’ र दुईवटा शाखा कुलो निर्माण गरिएको छ । पोखरीसँगै खेतमा पानी पु–याउन ६० मिटर कुलो पक्की बनाइएको छ ।
कटौंजे सिँचाइ तथा पोखरी व्यवस्थापन उपभोक्ता समितिमार्फत बाउबाजेले निर्माण गरेको पुरानो माटे पोखरीलाई पक्की बनाइ व्यवस्थित गरिएको उपभोक्ता समितिका अध्यक्ष बालप्रसाद डुम्रेले बताए । उनले भने,“अब पोखरीमा सङ्कलन गरिएको पानी चुहिएर खेर जाने समस्या हुँदैन, खेतीपातीमा पानी लगाउन सहज हुने छ ।”
एक हजार १५० मिटर टाढाको ठूलो खोलामा बाँध बाँधेर पाइपमार्फत पोखरीमा पानी ल्याइएको छ । खोलाबाट पोखरीसम्म पानी ल्याउन वालिङ नगरपालिकाले पटक पटक गरी रु ११ लाख सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष डुम्रेले बताए ।
पोखरीमा सङ्कलित पानीले ३५० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिने भएको हो । वर्षौँदेखि सिंचाइ अभावमा खेतीपाती गर्दै आएका कृषक सिँचाइ पोखरी निर्माण भएसँगै हर्षित बनेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्