सुन्दरीजलबासीको समस्या : हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी


काठमाडौं – बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।
यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुगेर स्थानीयवासीले यस विषयमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको स्थानीय रञ्जन श्रेष्ठले गुनासो गरे । वर्षाका बेला आउने धमिलो पानी खाँदा घाँटी दुख्ने, नुहाउँदा जीउ चिलाउनेलगायत समस्या हुने गरेको उनले सुनाए ।
वर्षाका बेला लिमिटेडले सुन्दरीजल क्षेत्रमा पठाउने पानी धमिलो हुने गरेको स्थानीय रविना तामाङको भनाइ छ । सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा बागमतीको मात्र नभइ मेलम्चीको पानी पनि वितरण गरिन्छ । बागमतीबाट वर्षामा दैनिक १३ करोड र हिउँद याममा दैनिक नौ करोड लिटर पानी राजधानीको मुख्य सहरमा वितरण गरिन्छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट २६.५ किमी सुरुङ मार्ग हुँदै आउने १७ करोड ५० लाख लिटर पानी सुन्दरीजल महाङ्कालस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन भएर काठमाडौँ उपत्यकामा वितरण हुने गरेको छ । हिउँदमा आउने मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुन्छ । जसले गर्दा राजधानीवासीले खानेपानीको समस्याबाट उन्मुक्ति पाउन सकेका छैनन् ।
गत सातामात्र मेलम्चीको पानी राजधानीमा वितरण बन्द गरिएको थियो । सुन्दरीजलवासीको खानेपानी समस्या समाधानमा स्थानीय सरकारले लामो समयदेखि मौन बस्दै आएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगर क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम गरिरहेको बताए ।
केही क्षेत्रको खानेपानी समस्या समाधान भए पनि मुहान क्षेत्र सुन्दरीजलमै समस्या भोग्नुपरेको गुनासो आइरहेको उनले स्वीकार गरे । लिमिटेडले समयमै काम नगर्दा सुन्दरीजल क्षेत्रमा हिउँदमा पानी नआउने, वर्षामा आउँदा धमिलो आउने गरेको नगरपालिकाले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन