डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा


कञ्चनपुर: डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युबेल जडानको कार्य गरेको छ ।
गौंडी, खल्ला, वसन्तपुर र तिलकी टोलमा डिप ट्युबेल जडानको कार्य गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए । “एउटा डिप ट्युबेलको क्षमता ६० बिघा जग्गामा सिँचाइ गर्ने गरेको छ”, उनले भने, “चारवटा डिप ट्युबेलबाट २४० बिघा जग्गामा सिँचाइ गर्न सकिन्छ ।”
डिप ट्युबेलमार्फत सिँचाइ सुविधा उपलब्ध भएपछि यस क्षेत्रका किसानलाई माछापालन, उखुखेती, तरकारीखेती, बसन्ते मकैखेती, केराखेतीलगायत गर्न निकै सहज भएको छ । सो सुविधाले समयमै धान, तोरी, मसुरो र गहुँबाली किसानले लगाउन पाएका छन् । बालीको उत्पादकत्व विगतको तुलनामा निकै वृद्धि हुँदै गएको किसानहरुको भनाइ छ ।
“विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नु पर्दथ्यो”, केराखेती गर्दै आउनुभएका मोहन रानाले भने, “सिँचाइको सुविधाले चाहेको बेला सिँचाइ गर्न पाएका छौँ, केराखेतीबाट मनग्य आम्दानी लिँदै आएका छौँ ।”
सिँचाइको व्यवस्थाले यस क्षेत्रका किसानको आयआर्जनमा निकै वृद्धि भएको स्थानीय शिक्षक गेंदुराम रानाले बताउनुभयो । उहाँका अनुसार डिप ट्युबेल जडानबाट ४०० बढी किसान लाभान्वित भएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन