१० महिनादेखि जलविद्युतको आइपीओ निष्कासन ठप्प
२७ कम्पनीको आइपीओसहित ३० आयोजना प्रभावित


काठमाडौं– सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नगर्दा जलविद्युत् प्रर्वद्धकका सेयर निष्कासन प्रक्रिया ठप्प भएको छ । प्राथमिक सेयर निष्कासन (आइपीओ) र हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको हो ।
नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको सेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको छ ।
लामो समयसम्म आयोजनाको सेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित भएको लगानीकर्ताको गुनाशो छ । गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपीओ जारी भएकोमा २९ वटा जलविद्युत कम्पनीहरु रहेका थिए । तर चालू आर्थिक वर्षमा भने गत भदौ ५ गते भिजन लुम्बीनी ऊर्जा कम्पनीको आइपीओ जारी हुनुबाहेक अरु कुनै पनि जलविद्युत कम्पनीको आइपीओ निष्कासन भएको छैन ।
अहिले एउटा सोलार सहित १८ वटा विद्युत उत्पादन कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
अनुमति नै नपाउने आइपीओको लागि किन आवेदन दिनु भन्दै ४/५ वटा कम्पनीले आवेदन नै दिएका छैनन् । ती सबै कम्पनीको गरी करीब १४/१५ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
त्यस्तै हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएका ९ जलविद्युत कम्पनीले पनि अनुमति पाएका छैनन् । ९ कम्पनीले हकप्रद निष्काषन गर्न लागेको रकम झण्डै ७ अर्ब रुपैयाँ रहेको कार्कीले जनाए ।
यस अघि बोर्डले गत पुसमा अन्तिम पटक जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासनको लागि स्वीकृति दिएको थियो । त्यसयता ९ कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा दिएको निवेदन अलपत्र परेका छन् ।
गत आर्थिक वर्षमा ८ वटा कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाउँदा ७ वटा जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी रहेका थिए । हकप्रद सेयरमा पनि अनुमति नै नपाउने भए किन खर्च गर्नु भन्दै धेरै कम्पनीहरु बोर्डमा नगएको कार्कीले जानकारी दिए ।
जलविद्युत कम्पनीहरुले आइपीओ तथा हकप्रद सेयर जारीगरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजना सहित काम अघि बढाएका हुन्छन् । तर, सेबोनले सेयर निष्कासनको अनुमति नदिएपछि थप २०र२२ अर्ब रुपैयाँ कहाँबाट जोहो गर्ने भन्ने चिन्ता प्रवर्द्धकलाई थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले बताए ।
जलविद्युत कम्पनीहरुको आइपीओ तथा हकप्रद सेयर निष्काषनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरेपनि सम्बन्धित निकायबाट तदारुक्ता नदेखाउँदा धेरै विद्युत आयोजनाहरुको निर्माण प्रभावित भइरहेको इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए ।
जलविद्युत आयोजनाले ५० प्रतिशत निर्माण पुरा भएपछि आइपीओ निष्काषनको प्रक्रियामा जान पाउँछन् भने ६० प्रतिशत निर्माण पुरा भएपछि अनुमति पाउने व्यवस्था छ । आइपीओबाट आउने पैसालाई पनि कम्पनीहरुले आयोजना निर्माणमा खर्च गर्नेगरी कार्ययोजना बनाएका हुन्छन् । तर, सेयर निष्काषनको प्रक्रिया नै रोकिएपछि आइपीओ निष्काषनको चरणमा पुगेका अन्य आयोजना समेत प्रभावित भएको प्रवर्द्धकहरु बताउँछन् । अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन् ।


लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्