सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महासंघ अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी प्रमुखबीच भेटवार्ता

प्रस्तावित समझदारीपत्रमा विस्तृत छलफल

जलसरोकार
शुक्रबार, साउन २३, २०८२ | १८:२०:३२ बजे

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने (Inmaculada Riera Rene) बीच मंगलबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा नेपाल–स्पेनबीच आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम (SMEs) को प्रवर्द्धन र दीर्घकालीन साझेदारीका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

अवसरमा अध्यक्ष ढकालले दुई देशबीचको सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै, स्पेनसँगको सहकार्यबाट प्रविधि, पुँजी र अनुभव नेपाल भित्र्याउन सकिने धारणा राखे। उनले यसका लागि निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको समेत बताए।

स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदा पठाएकोमा आभार व्यक्त गर्दै अध्यक्ष ढकालले उक्त दस्तावेजले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धको आधारशिला बन्ने विश्वास व्यक्त गरे। विस्तृत अध्ययनपछि दुवै पक्षबीच छिट्टै हस्ताक्षर हुने प्रतिवद्धता पनि जनाए।

“प्रस्तावित समझदारीपत्रमा व्यापार प्रवर्द्धन, लगानी, बजारसम्बन्धी जानकारी आदान–प्रदान, प्रतिनिधिमण्डल आदान–प्रदान तथा साना-मझौला उद्योगबीच सहकार्यजस्ता व्यावहारिक विषय समेटिएका छन्, जुन अत्यन्त सकारात्मक छन्,” उनले भने। उनका अनुसार, संयुक्त लगानी, प्राविधिक सहकार्य र ज्ञान साझेदारीका लागि यो समझदारीपत्र एक सशक्त प्लेटफर्म बन्नेछ।

अध्यक्ष ढकालले यस समझदारीले स्पेनिश व्यवसायीलाई नेपालबारे बुझ्न सहज बनाउने र नेपाली व्यवसायीका लागि स्पेनलाई युरोप प्रवेशको ढोका बनाउने सम्भावना रहेको बताए। उनले साना तथा मझौला उद्योगलाई दुवै मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै, यी क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको प्रष्ट पारे।

नेपालमा हालै भएका सकारात्मक नीतिगत परिवर्तनहरूले बाह्य लगानीका लागि प्रशस्त अवसर सिर्जना गरेको बताउँदै, उनले पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधि क्षेत्रमा स्पेनिश लगानीको सम्भावना उच्च रहेको बताए।

स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेनेले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताउँदै, पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधारमा सहकार्यको अवसर देखेको धारणा राखिन्। उनले महासंघसँगको समझदारीले दुवै मुलुकको निजी क्षेत्रीय समन्वय र आपसी विश्वासलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्ध गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यवसायिक समुदाय लाभान्वित हुनेमा सहमति जनाए।

भेटवार्तामा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्यको पनि उपस्थिति थियो। गत जुन महिनामा स्पेनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमा सहभागी रहेका अध्यक्ष ढकालले त्यतिबेला नै कार्यकारी प्रमुख रेनेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

प्रकाशित मिति : शुक्रबार, साउन २३, २०८२ | १८:२०:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया