बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो


काठमाडौं: देशको विदेशी मुद्रा सञ्चिति बढेर रु २८ खर्ब छ अर्ब चार करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार गत असार मसान्तमा रहेको रु २६ खर्ब ७७ अर्ब ६८ करोडको तुलनामा यस अवधिमा सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा हेरिँदा, गत असार मसान्तमा सञ्चिति १९ अर्ब ५० करोड थियो भने साउन मसान्तसम्म बढेर २० अर्ब तीन करोड पुगेको छ, जसमा करिब २.७ प्रतिशतको वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकमा मात्र रहेको विदेशी विनिमय सञ्चिति पनि चार प्रतिशतले बढेर रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । यस्तै, वाणिज्य बैंक र अन्य वित्तीय संस्थामा सञ्चित रकम १२ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।
साउन मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.४ प्रतिशत रहेको छ । हालको सञ्चिति आयात धान्ने क्षमताका हिसाबले २०.४ महिनासम्मको वस्तु आयात र १६.६ महिनासम्मको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने अनुमान गरिएको छ ।
यस अवधिमा चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ३३ अर्ब आठ करोड थियो । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी गत वर्षको तुलनामा घटेर रु ६९ करोडमा सीमित भएको छ ।
शोधनान्तर स्थिति पनि सुधारिएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ८९ अर्ब ३० करोडले बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु ४० अर्ब ९० करोड मात्र थियो ।
राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति स्थिर रहनु अर्थतन्त्रका लागि सकारात्मक संकेत भएको उल्लेख गर्दै आगामी दिनमा समेत सञ्चिति सुदृढ बनाउन ध्यान दिने जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना