भारतले दियो थप १२ जलविद्युत् आयोजनालाई निर्यात स्वीकृति
नेपालले अब २८ आयोजनाका ९४१ मेगावाट निर्यात गर्न पाउने

काठमाडौं : भारतले नेपालबाट थप २५१ मेगावाटका १२ वटा जलविद्युत् आयोजनाहरुबाट उत्पादित बिजुली निर्यातका लागि स्वीकृत गरेको छ ।
यसअघि भारतले १६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ६९० मेगावाटको निर्यातका लागि अनुमति दिएको थियो । थप १२ सहित अब नेपालले २८ वटा आयोजनाबाट उत्पादन भएका तथा हुने ९४१ मेगावाट बिजुली निर्यात गर्ने जानकारी भारतीय दूतावासले नेपाल विद्युत् प्राधिकरणलाई आज दिएको हो ।
दूतावासले निर्यातका लागि अनुमति दिइएको थप १२ वटा आयोजनाका नाम भने उल्लेख गरेको छैन तर नेपालले डेढ दर्जनभन्दा बढी आयोजनाबाट उत्पादित बिजुली निर्यातका लागि सूचीसहित अनुरोध पठाएको थियो ।
यो २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको छ ।
इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले ‘रियल टाइम मार्केट’ (आरटीएम) मा समेत पहुँच प्रदान गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।
भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।
यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी गत साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भयो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता