प्राधिकरणले ढाँटेको मिलेन, विद्युतीकरण ९९ प्रतिशत नै

काठमाडौं : परिवार संख्याको आधारमा देशभर ८४.६२ प्रतिशत विद्युतीकरण भएको भन्दै आएको नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई ९९ प्रतिशत विद्युतीकरण भएको तथ्यांक पठाएको छ ।
प्राधिकरणको उक्त तथ्यांकका आधारमा अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८१÷८२’ मा वैकल्पिक ऊर्जासहित विद्युत् पहुँच ९९.० प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वैशाख १९ गते श्वेत पत्र जारी गर्दै प्राधिकरणको विद्युत् पहुँच ९७.५ प्रतिशत पालिकाहरुमा, ९५ प्रतिशत वडाहरुमा, घरसंरचनाको आधारमा ९१.४ प्रतिशत र परिवार संख्याको आधारमा ८४.६२ प्रतिशत विद्युतीकरण भएको उल्लेख गरेका थिए ।
श्वेत पत्रमा २०८१ माघ सम्ममा प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ भनिएकोमा आर्थिक सर्वेक्षणमा फागुनसम्म कुल ग्राहक संखया ५५ लाख ९७ हजार पुगेको उल्लेख छ ।
आर्थिक सर्वेक्षणअनुसार आव २०७१÷७२ मा विद्युत्मा पहुँच ६१.९ प्रतिशत थियो । आव २०८१÷८२ को फागुनसम्मको तथ्यांकअनुसार भने देशभर विद्युतीकरण ९९ प्रतिशत भइसकेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो संसदमा पेश गरेको बजेटमा आगामी दुई वर्षभित्र मुलुकलाई पूर्ण विद्युतीकरण गरिने उल्लेख छ ।
आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्ममा देशको जडित विद्युत् क्षमता ३६०२ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् ३३३६ मेगावाट, सौर्य ऊर्जा ११७ मेगावाट, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा उत्पादित विद्युत् ९० मेगावाट, तापीय (थर्मल प्लान्ट) ऊर्जा ५३.४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत ६ मेगावाट छ ।
प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत् परियोजनाबाट ६६१.५७ मेगावाट, प्राधिकरणको सहायक कम्पनीहरुमार्फत ६३६.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट २०३७.६३ मेगावाट गरी २०८१ फागुनसम्म ३३३५.६० मेगावाट विद्युत् राष्ट्रिय ग्रीडमा जोडिएको आर्थिक सर्वेक्षणमा छ ।
२०८१ फागुनसम्म प्रसारणतर्फ ३ र वितरणतर्फ २ गरी ५ सवस्टेशनको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा अएका छन् ।
ग्रीड सवस्टेशनको क्षमता १३ हजार ५० भेगाभोल्ट एम्पियर (एमभीए) बाट १३ हजार ७ सय ४४ एमभीए पुगेको छ ।
त्यसैगरी १३२ केभीका पाँच प्रसारण लाइन (५९ सर्किट किलोमिटर) र २२० केभीका तीन प्रसारण लाइन (४३ सर्किट किलोमिटर) विस्तार भएको आर्थिक सर्वेक्षणमा छ ।
सर्वेक्षणअनुसार राष्ट्रिय प्रसारण लाइन(६६ केभी र सोभन्दा माथिको लम्बाइ) २०८१ असारसम्म ६,४६२ सर्किट किलोमिटर रहेकोमा फागुन मसान्तसम्म ६,७४५ सर्किट किलोमिटर पुगेको छ ।
२०८१ फागुनसम्म वितरण लाइन (३३ केभी र सोभन्दा कम) २ लाख १० हजार ३ सय १७ सर्किट किलोमिटर पुगेको छ । गत २०८१ असार मसान्तसम्म वितरण लाइन (४००÷२३० भोल्ट) १ लाख ५० जार ४ सय ७७ किलोमिटर रहेकोमा २०८१ फागुनसम्म १ लाख ५२ हजार ३१ सर्किट किलोमिटर पुगेको छ ।
आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षको फागुनसम्म भारततर्फ १,७७५ गिगावाट घण्टा (१ अर्ब ७७ करोड ५० लाख युनिट) बराबरको विद्युत् निर्यात भएको छ भने ९२९ गिगावाट घण्टा (९२ करोड ९० लाख युनिट) आयात भएको छ । गत आर्थिक वर्षमा भारताट १८९० गिगावाट घण्टा विद्युत् आयात र १९५१ गिगावाट घण्टा विद्युत् निर्यात भएको थियो ।
विभिन्न आयोजनाको निर्माणबाट आर्थिक वर्ष २०८१÷८२ मा करिब ४४८.८६ मेगावाट विद्युत् उत्पादन भई नेपालको विद्युत् क्षमता ४०५१ मेगावाट पुग्ने अनुमान छ ।
त्यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई थप ४६२.७६ मेगावाट जडित क्षमता बराबरको ३२ वटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको सवेक्षण अनुमति पत्र जारी भएको छ ।
२०८१ फागुनम्म १०७ आयोजनाको ८,३१४ मेगावाट जडित क्षमता बराबरको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति पत्र जारी भएको छ ।
चालू आर्थिक वर्षको फागुनसम्म विद्युत् खपत ८,६९६ गिगावाट घण्टा बराबर पुगेको छ । गत आर्थिक वर्ष यस्तो खपत १२,१७८ गिगावाट घण्टा थियो ।
आर्थिक वर्ष २०८१÷८२ को फागुनसम्म कुल विद्युत् खपतको गार्हस्थ्यमा ३५.३ प्रतिशत, औद्योगिकमा २९ प्रतिशत, व्यापारिक ६.३ प्रतिशत र अन्य क्षेत्रमा १०.६ प्रतिशत विद्युत् खपत रहेको छ । उक्त अवधिमा करिब १९.७ प्रतिशत विद्युत् निर्यात भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्