राष्ट्र बैंकले ९० अर्ब तरलता खिच्ने


काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ अधिक तरलता खिच्ने भएको छ । हाल प्रणालीमा २ खर्बभन्दा बढी अतिरिक्त तरलता देखिएको कारण केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार बुधबारसम्म प्रणालीमा २ खर्ब ४ अर्ब रुपैयाँ अतिरिक्त तरलता रहेको थियो । यस अवस्थालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत बैंक तथा वित्तीय संस्थाले राखेको अधिक तरलता संकलन गर्नेछ । यस क्रममा थोरै ब्याजदरमा निक्षेप दिन इच्छुक संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गरिनेछ ।
हाल बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ । निक्षेप संकलनमा ब्याजदर घट्ने संकेत देखिएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता धेरै हुँदा निक्षेप संकलन र स्थायी निक्षेप सुविधा प्रयोग गरेर पैसा खिच्ने गर्छ भने तरलता कमी हुँदा रिपो र स्थायी तरलता सुविधा मार्फत रकम पठाउँछ ।
‘जेन जी’ आन्दोलनका कारण केही दिन बैंक तथा वित्तीय संस्था बन्द रहँदा मौद्रिक व्यवस्थापनमा समस्या देखिएको थियो । त्यसबेला तरलता खिच्ने संयन्त्र सक्रिय हुन नसक्दा बैंकमा पैसा थुप्रिएको थियो । आन्दोलनकै कारण निक्षेप पनि बढेको राष्ट्र बैंकले जनाएको छ ।
यस साताको मंगलबारसम्म राष्ट्र बैंकसँग ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ मौज्दात रहेको छ । सोमध्ये स्थायी निक्षेपमा ४ खर्ब ४ अर्ब र निक्षेप संकलनमा २ खर्ब ६६ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना