बागमती नदीको पुनर्जीवन — बागमती भनेको के हो?


काठमाडौं उपत्यकाका सबै बासिन्दाहरू विश्वास गर्छन् कि काठमाडौं महानगरपालिकाको नारामा उल्लेख गरिएको “सफा र हराभरा बागमती” केवल एउटा नारा मात्र होइन, यो साँच्चिकै गम्भीर सन्देश हो। तर बागमती नदी भने जताबाट, जसरी र जुन रुपमा सक्तछ त्यतै बगिरहन्छ। यस नारालाई वास्तविकतामा रूपान्तरण गर्न यसको महत्व बुझ्न जरुरी छ। त्यसका लागि बागमती भौतिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक रूपमा के हो भन्ने बुझ्नुपर्छ अनि स्थानिय जनसमुदायहरूसँगको यसको सम्बन्ध र यस नदीको ऐतिहासिक गौरवलाई समेत चिन्नु र बुझ्नुपर्छ।
त्यसो भए बागमती भनेको के हो त?
बागमती पनि अन्य नदीहरू जस्तै एक नदी हो। तर त्यो भन्दा माथि उठेर बागमती एउटा सभ्यताको नदी हो- जहाँ अहिलेको सभ्यता करिब केही हजार वर्ष पहिले, सम्भवत: मानिसहरू शिकारी-सङ्ग्राहक अवस्थाबाट अलिकति अगाडि बढेको चरणदेखि नै विकास हुन थालेको हो।
काठमाण्डौ उपत्यकाको प्रमुख नदी बागमती सुन्दरीजल नजिकैको बागद्वारबाट सुरु भएर तलतिर बग्छ र काठमाडौं उपत्यकाको वरिपरिका धेरै उपनदीहरूलाई आफूसँग मिलाएर बढदै जान्छ । यस नदीले आफ्नो यात्रामा बस्तीहरू, खेतबारीहरू तथा विभिन्न समयमा विभिन्न प्रभावशाली व्यक्तित्वहरूद्वारा विभिन्न उद्देश्यका लागि निर्माण गरिएका कैयौं सांस्कृतिक महत्वका स्थलहरू पार गर्छ, अनि चोभारको खौंचबाट निस्केर कटुवालदह हुंदै काठमाण्डौबाट बाहिरिन्छ। त्यसपछि यो नदी पहाडी उपत्यका र तराई हुँदै भारततिर बगेर अन्ततः बिहारको बदलघाटमा सप्तकोसी नदीमा मिसिदै गङ्गा नदीमा समाहित हुन पुग्छ। यो नदी मुख्य रूपमा वर्षाको पानीमा भर पर्ने नदी हो; अन्य मौसममा यो नदी पानीका मूलहरुको सहायताले जीवित रहन्छ ।
काठमाडौं उपत्यकाको पानी निकास प्रणालीको मेरुदण्डका रूपमा बागमती नदी
काठमाडौं उपत्यकाको पानी निकास प्रणालीको मेरुदण्डका रूपमा रहेको बागमती नदीको उत्पत्ति उपत्यका स्वयंको निर्माणसँगै करिब ३० लाख वर्षअघि भएको हुनुपर्छ। उपत्यकाको दक्षिणी किनारामा रहेका पहाडहरूमा अहिलेको काठमाडौं उपत्यकाको सतहभन्दा कम उचाईमा खोल्साहरू (gullies) रहेका थिए र सो खोल्साहरु पहिल्याउँदै उपत्यकाको पानी निकास हुने प्रणाली सक्रिय थियो। यद्यपि, त्यस समयमा पनि काठमाडौं उपत्यकामा मनसुनका बेला साना तालहरू, पोखरीहरू वा पानीका तलैयाहरु (puddles) रहेको हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न।
वास्तवमा बागमती नदी आफ्नै उत्पत्तिदेखि नै एउटै नदीका रूपमा बगिरहेको थियो कि थिएन भन्ने कुरा अझै स्पष्ट छैन। तथापि, करिब २८ लाख वर्षअघि उपत्यकाको दक्षिणी किनारातर्फको पानी निकास प्रणाली दक्षिणतर्फका पहाडहरु बढ्ने क्रमसँगै अवरुद्ध भयो । योसँगै सम्भवतः चोभारको खोँच वा गल्छी र उपत्यकाका पानीका अन्य सम्भावित निकासहरू बिस्तारै बन्द भए । यसले गर्दा सुरुमा उथला (shallower) तालहरू बने जुन क्रमशः गहिरिँदै गए, विशेष गरी दक्षिणी पहाडहरू र चोभारको खोँच उच्च गतिमा उठ्दै गएकाले उत्तरतिर गहिरो तालको विकास भयो । यो प्रक्रिया करिब १० लाख वर्षअघि सुरु भएको अनुमान गरिएको छ ।
अन्ततः अन्तिम हिमयुगको अन्त्यतिर, करिब १०-११ हजार वर्षअघि त्यो विशाल ताल सुक्न गयो । ताल सुक्ने प्रक्रिया भने विस्तारै भएको हुनुपर्छ— पहिले माथिल्ला भागहरू सुक्दै गए, त्यसपछि क्रमशः होचिल्ला भागहरू पनि सुक्दै अन्ततः सम्पूर्ण उपत्यकाको पानी सुकेर यो उपत्यकाको तल्लो भाग पनि बस्नयोग्य भयो ।
काठमाडौं उपत्यकाबाट पानीको निकास हुनुका दुई मुख्य कारणहरू थिए:
१. उपत्यकाको पिंदमा जमेको गेग्र्यान (sedimentation)
२. चोभारको गलछीको कटान (erosion)
यी दुबै प्रक्रिया विस्तारै र मुख्यत: ऋतुअनुसार (seasonal) हुने गरेका थिए।
ध्यान दिनुपर्ने कुरा के छ भने काठमाडौं उपत्यकाको दक्षिणी भागमा कुनै समय एउटा ताल थियो, जुन समय क्रमसँगै दक्षिणी किनाराका पहाडहरू र उपत्यकाको सतह उचालिँदा उत्तरतर्फ सर्दै गयो। काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रहरू, विशेष गरी उत्तरी भागहरू, त्यस तालमा पानी प्रवाह गराउँथे, र त्यो ताल उत्तरतर्फ चपलीभन्दा केही किलोमिटर उत्तरसम्म फैलिएको थियो। त्यसैगरी, मुख्य तालबाहेक पनि उपत्यकामा अन्य साना तालहरू र पोखरीहरू मौसमी रूपमा अस्तित्वमा रहेका हुन सक्छन्; तीमध्ये केही तालहरू वर्षभरि नै कायम रहने गरेको पनि सम्भावना छ।
बागमती नदी र यसका सहायक नदीहरू: काठमाडौं उपत्यकाको समृद्धिको प्रतीक
बागमती नदी र यसका सहायक नदीहरू काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसहरूका लागि समृद्धिको प्रतीक थिए, जहाँ मानवीय गतिविधिहरू करिब ५ देखि १० हजार वर्षअघि नै सुरु भएको देखिन्छ (सन्दर्भ: विष्णुमती नदीको किनार, बुढानीलकण्ठको उत्तरतर्फ, नारायणगोपाल चोकभन्दा केही किलोमिटर उत्तरमा फेला परेका नवपाषाणकालीन उपकरणहरू)। ती मानिसहरूले आफ्नो घुमन्ते जीवनशैलीलाई क्रमशः परिवर्तन गर्दै आजको सभ्यताको रूपसम्म दिएका हुनुपर्छ। यसको अर्थ करिब ५ देखि १० हजार वर्षअघि ‘होमो सेपियन्स’ हरू कुनै शिकारी क्रियाकलापका क्रममा, वा शिकारको पछिपछि वा कुनै प्राकृतिक खाद्य शृङ्खला (नेचुरल फुड चेन) पछ्याउँदै विष्णुमती नदीको किनारसम्म आइपुगेका थिए र तल उल्लेखित केही कारणहरूले गर्दा उनीहरू त्यहीँ बसोबास गर्न थालेः
क. शिकारी गतिविधिका लागि सजिलो— पानी पिउन नदी किनार आउने जनावरहरू सजिलै मार्न सकिन्थ्यो।
ख. पछि उनीहरूले पशुपालन सिकेपछि— मासु र दूधका लागि चौपाया वा अन्य जनावर पाल्न थाल्दा— हरियाली वनजङ्गल र साफा पानीको स्रोत भएको ठाउँ आदर्श थियो।
ग. त्यसपछि समयक्रमसँगै काठमाडौं उपत्यकाको तालसङ्ग्रहीत (lacustrine) माटोमा उत्कृष्ट बालीनाली उत्पादन हुन थालेपछि कृषि जीवन अझ आकर्षक बन्दै गयो।
त्यसका साथै, काठमाडौं उपत्यकामा प्राकृतिक रूपमा पाइने विभिन्न प्रकारका फलफूल, ओखर, बदामहरू र जरा-कन्दमूलहरूले त्यहाँ आइपुगेका मानिसहरूलाई भोजनको प्रचूर स्रोत सजिलै प्रदान गर्थ्यो। त्यसैगरी, नदीहरूमा प्रशस्त मात्रामा पाइने माछाहरू पनि थप भोजन आपूर्तिको साधन बन्ने गर्थे।
उपत्यकाका प्रारम्भिक बासिन्दाहरू र सभ्यताको उदय
उपत्यकाका प्रारम्भिक बासिन्दाहरूले उपत्यकामा बसोबास गर्न थालेको समय सम्भवत: ताल सुक्नुभन्दा पहिले देखि नै हुन सक्दछ । किनभने, उपत्यकाको उत्तरी भाग र वरिपरिका डाँडाकाँडा जहिले पनि पानीको सतहभन्दा माथि नै रहेका थिए र नजिकै रहेको नदी तथा तालले थप आकर्षण दिन्थ्यो । विष्णुमती र लुभूमा फेला परेका प्राचीन औजार-उपकरणहरू प्राप्त भएका स्थानहरू कहिल्यै पनि तालको पानीमुनि परेका थिएनन्, त्यसैले प्रारम्भिक बासिन्दाहरू ती स्थानहरूमा सहजै आएर बस्न सक्थे। काठमाडौं उपत्यकाका प्रारम्भिक बासिन्दाहरूको बारेमा निष्कर्षमा पुग्न अझै धेरै पुरातात्त्विक अध्ययन अनुसन्धान आवश्यक छ, जसमा साँखु (शंखरापुर) का बासिन्दाहरू पनि पर्छन्।
प्रारम्भिक बासिन्दाहरू उपत्यकामा विभिन्न दिशाबाट आएका हुन सक्छन्। त्यस्तै, एउटै समयमा उपत्यकाका विभिन्न स्थानहरूमा धेरै समूहका मानिसहरू स्वतन्त्र र अलग-अलग रूपमा बसेका पनि हुन सक्छन्। उनीहरूमध्ये केहीले छुट्टाछुट्टै स-साना राज्यहरू कायम गरेका थिए होला। पछि कुनै न कुनै कारणहरू— जस्तै युद्ध, मित्रता वा साझा शत्रुका कारण यी राज्यहरू क्रमशः एक आपसमा मिसिँदै गएर एउटा ठूलो समुदायमा परिणत भएका हुन सक्तछ। यिनै समुदायहरू नै “नेवार” (अर्थात् “ने” का बासिन्दा) का उत्पत्तिका जरा हुन्, जसले काठमाडौं उपत्यकामा बागमती नदीको किनारमा समृद्ध र समुन्नत संस्कृति विकास गरे।
बागमती र यसको सहायक नदी किनारका महत्वपूर्ण सांस्कृतिक धरोहरहरू
बागमती (मुख्य नदी): बगमती नदीका मुख्य सांन्स्कृतिक धरोहरहरुमा बागद्वार, उत्तर बहिनी गङ्गा (बागमतीको गयाः गङ्गा), गोकर्णेश्वर महादेवको मन्दीर, गुहेश्वरी वा गुह्यकेश्वरी, पशुपतिनाथ, कालमोचन, पचली भैरव, ऋषिको स्थान, चोभार गणेश आदी पर्दछन ।
विष्णुमती नदी: विष्णुमती नदीको नवपाषाणकालीन औजारहरू फेला परेको चपली किनार, बालाजु, शोभा भगवती, इन्द्रायणी, टेकु दोभान (बागमती र विष्णुमती नदीको संङ्गम) ।
यसैगरी, धोबी खोला, मनोहरा नदीसहित हनुमन्ते खोला, घट्टे खोला, साली नदी, गोदावरी नदी, नक्खु खोला, टुकुचा (इच्छुमति), वल्खु खोला, कोड्कु खोला लगायतका नदीहरू र तिनीहरूका सहायक नदीहरूमा पनि अनेकौं अमूल्य सांस्कृतिक धरोहरहरू छन्। तीमध्ये धेरै धार्मिक श्रद्धालुहरूले नियमित रूपमा भ्रमण गर्छन्, तर धेरैजसोले हालको समयमा उचित मान्यता पाएका छैनन्। बागमतीका यी सांस्कृतिक धरोहरहरू मध्ये सबैभन्दा पुरानो कुन हो? सबैभन्दा पुराना धरोहरहरू उपत्यकाको पेरिफेरी (किनार) वा उच्च स्थानहरूमा अवस्थित हुनुपर्छ, जस्तै साँखु नजिकको बज्रयोगिनी मन्दिर वा बुढानीलकण्ठ मन्दिर वा अन्य मन्दिर वा पाटी वा कुनै अर्को प्रतिष्ठान ।
बागमती नदीको उद्गम
बागमती नदी र यसका सहायक नदीहरूको उत्पत्तिलाई पछ्याउन करिब ३० लाख वर्षअघि भूगर्भीय इतिहासमा एउटा कचौरा जस्तै उपत्यका बिस्तारै बन्दै गएको कालखण्डसम्म पुग्नुपर्ने हुन्छ । त्यो समय त्यहाँका सबै नदीहरू, बागमती र तिनका सहायक नदीहरू, स्वतन्त्र रूपमा बगिरहेका थिए वा उपत्यकाको बीचतिर कतै भेटिँदै थिए। त्यो ठाउँमा मनसुनका बेला थुप्रै साना पोखरी, ताल वा जलाशयहरू हुन्थे, जसमा केही वर्षभरी नै कायम रहनेहरू पनि थिए। समयक्रमसँगै यी साना जलाशयहरू एक आपसमा मिलेर एक ठूलो ताल बन्ने दिशातर्फ परिवर्तन हुन थाले । सम्भवतः २८ लाख वर्षअघि उपत्यकाको दक्षिणी पहाडहरुको उचाई बढन प्रारम्भ संङ्गै चोभारको निकास वा अन्य कुनै निकासमा आएको अवरोधका कारण तालको स्वरुप तथा क्षेत्रफल र गहिराईमा पनि क्रम वृद्धि हुन गयो । साना तालहरू एक आपसमा समाहित हुँदाको ठूलो तालको सिर्जना भयो । तालको गहिराई भूगर्भीय उत्थान र स्थलाकृति परिवर्तनका कारण बढ्दै गयो । त्यस्तै, उपत्यकाभरिको गेग्र्यान ले ताल भर्न थाल्दा साना तालहरूको अस्तित्व खतरामा परे। करिब १० लाख वर्षअगाडि उपत्यकाको दक्षिणी किनाराका पहाडहरूको उत्थानले तालको गहिराई अझै तीव्र रूपमा बढायो र ताललाई दक्षिणबाट उत्तरतर्फ धकेल्यो । त्यो समयमा सबै नदीहरू वर्षाको समयमा त्यही तालमा पानी आपूर्ति गरिरहेका थिए; त्यसैले, वर्षातको समयमा जलाशयमा जम्मा भएको पानी उपत्यका भरिएपछि यसको सीमा नाघेर सम्भवतः चोभारको गल्छी वा अर्को कुनै खोल्सो वा गल्छीलाई खियाउदै उपत्यका बाहिर बग्न थाल्यो। मनसुनपछिका महिनाहरूमा तालको पानी वाष्पीकरणका कारण कतै सुक्थ्यो भने अन्य स्थानहरुमा पानीको सतहमा गिरावट आउँथ्यो ।
त्यसैले, भूगर्भीय उत्थान र गेग्र्यान ले उपत्यका भर्ने प्रक्रिया मिलेर एकातर्फ तालको गहिराई बढाउने र अरकोतर्फ ताललाई भर्ने जटिल प्रक्रिया करिब ११ हजार वर्षअगाडि सम्म चल्यो र क्रमशः त्यो ताल पूर्ण रूपमा सुक्यो। बाँकी केही साना ताल, पोखरी वा पानी जम्ने स्थानहरु नदीहरूको छेउछाउमा मात्र रहिरहेका थिए । तालको सुक्ने प्रक्रिया पनि क्रमशः भएको हुनुपर्छ— पहिले ठूलो ताल साना-साना भागमा छुट्टिन थाल्यो; तालहरुको वर्षातको समयमा जोडिने र हिउँदका महिनामा अलग-अलग हुने यो एक प्राकृतिक प्रकृया थियो ।
यो प्रक्रिया धेरै चरणहरूमा भएको हुन सक्छ, जसको शुरुवात मनसुनका केही वर्षहरूमा पानीको आकस्मिक बहाव (spillover) बाट भएको हुनुपर्दछ र पछि उपत्यकाभरिको गेग्र्यानले ताल भर्नु, खोँचको कटान हुनु र भूगर्भीय कारणहरूले गर्दा गल्छीबाट स्थाई रुपमा पानीको निकास हुन थाल्यो र क्रमिक रुपमा आजको स्वरुपमा आयो । तर, चोभारको गल्छी गहिरिने क्रम हाल म्म पनि जारी नै हुनुपर्दछ । तर, चोभारको खोँचबाट पानी पहिलो पटक बाहिर निस्किएको समय वा लगातार पानी बहन थालेको समयको अनुमान लगाउन सजिलो छैन । यद्यपि वर्षातको समयमा अर्थात मध्य वर्षातमा कहिलेकाहीँ पानीको आकस्मिक बहावबाट चोभारको गल्छी हुँदै बागमती नदीको निकासको प्रारम्भ भएको हुनु पर्दछ ।
काठमाडौं उपत्यकामा मानव जीवन (होमो सेपियन्स)
माथि प्रस्तुत गरिएको तर्कले उपत्यकामा तालको अस्तित्व उपत्यकाको तल्लो भागमा रहेको थियो भने यसको चारैतिरका पहाडी भागहरुमा साधारण जमिन विद्यमान रहेको थियो । खास गरी उपत्यकाको उत्तरी, पूर्वी र पश्चिमी पेरिफेरीमा मानव जीवनयापनयोग्य सुख्खा जमिनहरूसहित नदीहरूको स्पष्ट जालो विद्यमान रहेको थितो । यस्तो प्राकृतिक अवस्था मानवीय बसोबासका लागि उपयुक्त स्थान हुन सक्तथ्यो । तर, काठमाडौं उपत्यकामा फेला परेको पुरातात्त्विक सामग्रीहरू प्रायः नवपाषाण कालसम्म मात्र सीमित छन्। यो भनेको करिब ६ हजार-५ हजार वर्षअघिको समयसँग मेल खान्छ, जुन करिब कलि संवत् (विक्रम संवत् + ३,००० वर्ष) हो। शंखरापुर वा साँखु करिब ३,२०० वर्षअघि सात टोलहरूलाई एकीकृत गरी “शंख” को आकारमा स्थापना गरिएको कथाले (प्रोफेसर डा. गोविन्द बोल श्रेष्ठका अनुसार) यो पनि देखाउँछ कि करिब ३,२०० वर्षअघि काठमाडौं उपत्यकामा गाउँहरू वा टोलहरू केही समय अगाडिदेखि नै अस्तित्वमा रहेकाे हुनुपर्छ। यसले काठमाडौं उपत्यकामा मानव बस्ती नवपाषाण कालभन्दा पनि पहिलेको अवधिदेखि फैलिएको संकेत दिन्छ । यद्यपि त्यसलाई समर्थन गर्ने केही ठोस प्रमाणहरू अहिलेसम्म भेटिएका छैनन्। त्यसैले, काठमाडौं उपत्यकामा नेवारहरू र उपत्यकाको पेरिफेरीका (काँठका) अन्य बासिन्दाहरू कहिलेदेखि काठमाडौंमा अस्थायी रुपमा वा स्थायी रुपमा निवास गर्न प्रारम्भ गरे भन्ने बुझ्न पुरातात्त्विक तथा मानवशास्त्रीय अनुसन्धान गर्न आवश्यक छ । उपत्यकाबाहिरका विभिन्न बस्तीहरूबाट उपत्यकातर्फ आउने आप्रवासी मार्गहरूको अध्ययनले नेवारहरूको तथा काठमाडौंका काँठका बस्तीहरुको उत्पत्ति र उनीहरूको सांस्कृतिक सम्पदाको बारेमा थप जानकारी प्रदान गर्न सक्छ ।
बागमती सफाइ अभियानहरू
बागमती नदी सफा गर्ने अभियानहरू करिब १९७० दशकदेखि चलिरहेको छ; यसका अग्रणी व्यक्तित्व स्वर्गिय इन्जिनियर हुताराम वैद्य थिए। त्यसयता, अभियानहरूमा संख्यात्मक र नेतृत्व गर्ने व्यक्तित्वहरूको दृष्टिले तीव्रता आएको छ, जहाँ लगभग १०० गैरसरकारी संस्था, काठमाडौं महानगरपालिका, धेरै राजनीतिक व्यक्तित्वहरू साथै कर्मचारी र पूर्वकर्मचारीहरू संलग्न छन्।
आजकाल बागमती प्रदूषणको विरोध गर्नु एउटा फेसन जस्तै बनेको छ, तर त्यही क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बागमतीको प्रदूषण जारी छ। काठमाडौं उपत्यकाका धेरै स्थानीय सरकारहरू, काठमाडौं महानगरपालिकासहित, सार्वजनिक रूपमा प्रस्तुत गरिने आकर्षक नाराहरू भए तापनि यस्ता प्रदूषणकारी परियोजनाहरूलाई वित्तीय सहयोगमार्फत प्रोत्साहित गरिँदैछ। त्यसैगरी, राजनीतिकर्मी र उपल्ला तहका कर्मचारीहरूले नेतृत्व गरेका अभियानकर्ताहरूको समूह “बागमती सफाइको आवश्यकतालाई बुझाउन र उपत्यकाबासीहरूलाई सचेत गराउन” लागिपरेका छन्। तर, यस्ता अभियानहरूको प्रभावकारिता कम हुनुको प्रमाण भनेको बागमती नदीको प्रदूषण यतिखेर पनि कम नभएको तथ्य हो, जुन प्रायः व्यापक सञ्चार माध्यमहरूद्वारा प्रचारित ‘प्रयास’ सहित हुँदै आएको छ। कुनै पनि ठोस उद्देश्यविना वा त्यसको मूल्याङ्कन र प्रतिक्रियाविना गरिने सार्वजनिक प्रदर्शनहरू निरर्थक सावित भएका छन्। त्यसैले, अभियानले आफ्नो मूल एजेन्डालाई केवल सचेतना फैलाउनेबाट परिवर्तन गरी प्रभावकारी एजेन्डामा रूपान्तरण गर्नुपर्छ, जसले मुख्य उद्देश्य प्राप्तितर्फ डोहाेर्याउन सकाेस् ।
त्यसैगरी, वर्तमान कानुनी ढाँचा वा सामाजिक मान्यताभित्र पानीका स्रोतहरू प्रदूषित गर्ने कार्यको वैधतालाई कानुनी रुपमा प्रतिबन्ध गर्न वा सफा बागमती र सफा काठमाडौंका लागि नयाँ कानुनी वा सामाजिक संरचना तयार गर्ने विषयमा कार्यक्रमहरु केन्द्रित हुनुपर्छ। प्रभावकारी अभियानका लागि मुख्य मुद्दामा ध्यान केन्द्रित गरी अभियानको प्रभावकारिताको उचित अनुगमन र मूल्याङ्कन गरी नदी प्रदूषण र नदी कब्जाको प्रारम्भिक तथ्यांकसँग तुलना गर्न सकिने तथ्यांङ्गक (डाटा) संकलन गर्नुपर्छ। त्यसैगरी, बागमतीसँग स्थानीय समुदायहरूको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई गहिराइमा अध्ययन गरी यस नदीको सभ्यतागत नदीको रूपमा महत्त्व बुझ्न आवश्यक छ।
काठमाडौंका स्थानीय समुदायहरूको बागमतीसँगको आध्यात्मिक सम्बन्ध धेरै महत्वपूर्ण संस्कार र परम्पराहरूमा प्रकट हुन्छ । यसले एउटा बालकको जन्मदेखि मृत्युसम्मको जीवनचक्रलाई समेट्छ। हिन्दू र बौद्ध धर्मका मानिसहरूले आफ्ना विशेष तरिकाले नदीलाई पूजा गर्छन् र बागमती नदीले दुबै धर्मका लागि उच्च धार्मिक महत्त्व राख्दछ। बागमती नदीको अर्को आध्यात्मिक महत्त्व यस नदीका तटहरू र सहायक नदीहरूमा रहेका अनगिन्ती धार्मिक तथा सांस्कृतिक धरोहरहरूले प्रष्ट पार्दछन् ।
मूल बागमती नदी र अन्य सहायक नदीहरूमा रहेका महत्वपूर्ण सांस्कृतिक र धार्मिक धरोहरहरूको कुल संख्या १५० भन्दा बढी छ। यस्ता धेरै धरोहरहरू मुख्यत: उपेक्षाका कारण र नदी प्रदूषणका कारण विनाशको कगारमा पुगेका छन्। कुनै-कुनै मन्दिर वा संस्थाका स्थानीय पुजारी र गुठीहरुका केही निरन्तर प्रयासहरू हुँदाहुँदै पनि व्यावहारिक रूपमा नदी किनारा सफा हुन सके पनि नदीको प्रदूषणका कारण सफल हुन सकेका छैनन्। त्यसैले, नदी र समुदायहरूबीचको राम्रो सम्बन्धको अभिव्यक्ति मा काठमाडौंका नेवार समुदाय र काँठमा अन्य पुराना समुदायहरुद्वारा नदी तटमा अवस्थित सांस्कृतिक धरोहरहरूको अवस्थामा प्रत्यक्ष देखिने किसिमको सुधार गर्न तथा बागमती नदीलाई अर्थपूर्ण र प्रभावकारी रूपमा सफा गर्ने उद्देश्य प्राप्त गर्न चनाखो हुनुपर्ने र प्रत्यक्ष रुपमा संलग्न हुनुपर्ने देखिन्छ । त्यसैले, बागमती सफाइ प्रयासमा हाल संलग्न सबै संगठनहरू तथा व्यक्तिहरु र स्थानीय समुदायबीच बढी गम्भीर, समन्वित र परिणाममुखी ठोस कार्यक्रमको आवश्यकता पर्दछ । यस्तो कार्यक्रमले मात्र प्रभावकारी रूपमा बागमती सफा गर्ने लक्ष्यमा प्राप्तिमा स्पष्ट परिणाम ल्याउन सक्दछ। मुख्य कुरा हामीले बागमती नदीको समस्या बहुआयामिक रहेको कुरा स्वीकार्नुपर्छ र यसको सुधारमा संलग्न सवैको संस्थागत उद्देश्य अनुसारका समस्यामा केन्द्रीत भएको भए पनि प्रभावकारी अभियानका लागि सबै संलग्नहरुको समन्वयको टडकारो अभाव देखिएको छ । यसकारण, समान विचारधारा भएका र यस कार्यमा समर्पित क्रियाशील संगठनहरू, गुठीहरू, स्थानीय क्लबहरू, जनप्रतिनिधिहरू, दातृ समुदायहरू, व्यक्तिगत सक्रियकर्ता र अन्यको समन्वय नै यस अभियानको प्रभावकारी सुरुवात हुन सक्छ। यस कार्यमा स्थानीय सरकारहरुले नेतृत्वदायी भूमिका निभाएमा यसले राम्रो गति लिनेछ भन्ने मेरो व्यक्तिगत धारणा भए पनि यस धारणासँग सहमत हुने धेरै कारणहरु छन् । यस्तो अभियानबाट मात्र ठोस रुपमा यो “बागमती नदीको पूर्ण र स्थायी पुनरुत्थान सुनिश्चित गर्ने” लक्ष प्राप्त गर्न आवश्यक प्रभावकारी अभियानहरूको डिजाइन र कार्यान्वयनमा ठोस मदत पुग्ने मैले देखेको छु ।
यसको सुरुवात प्रथमतः सरकारी वा सामुदायिक रकमबाट नदी प्रदूषणमा प्रत्यक्ष प्रभाव पार्ने योजनामा लगानी नगर्ने नीति निर्माण भई लागू हुनुपर्दछ भने यसको दोश्रो कदमका रुपमा काठमाडौं उपत्यकाका सबै पाठशालाहरुले बागमती प्रदूषण र काठमाडौं उपत्यकामा यसको कुप्रभाव बारेको पाठ्यक्रम तयार गरी लागू गर्नु पर्दछ । तेश्रो प्रभावकारी कदमका रुपमा नदी किनारमा रहेका सांस्कृतिक सम्पदाबारे अध्ययन अनुसन्धान गर्न गराउन नेपालका तथा विदेशका विश्वविध्यालयहरुलाई प्रोत्साहन गर्ने कार्य नेपाल सरकारले प्राथमिकताका साथ गर्नुपर्छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्