गत वर्षको तुलनामा १ खर्ब २० अर्बले बढी राजस्व संकलन


काठमाडौं : आर्थिक वर्ष २०८१/०८२ मा सरकारले ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो १ खर्ब २० अर्ब रुपैयाँले बढी हो, जुन ११.३३ प्रतिशत वृद्धि हो।
आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु वर्षको सुरुआतमा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि अर्धवार्षिक समीक्षापछि लक्ष्य परिमार्जन गरी १२ खर्ब ८६ अर्ब कायम गरिएको थियो। संशोधित लक्ष्यको ९१.६० प्रतिशत राजस्व संकलन भएको राजस्व महाशाखाले जनाएको छ।
राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद्, अन्तर्राष्ट्रिय आर्थिक अस्थिरता र आन्तरिक चुनौतीका बाबजुद पनि सरकारको राजस्व संकलन गत वर्षभन्दा उत्साहजनक रह्यो। “अब हामी चालु आर्थिक वर्षको राजस्व लक्ष्य हासिल गर्ने तयारीमा छौं,” खत्रीले बताए।
सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ।
पछिल्ला १० वर्षको राजस्व संकलन यस्तो छ:
आर्थिक वर्ष | राजस्व संकलन (रु खर्ब) |
---|---|
२०७१/०७२ | ४.०५ |
२०७२/०७३ | ४.८१ |
२०७३/०७४ | ६.०९ |
२०७४/०७५ | ७.२६ |
२०७५/०७६ | ८.२९ |
२०७६/०७७ | ७.९३ |
२०७७/०७८ | ९.३५ |
२०७८/०७९ | १०.६६ |
२०७९/०८० | ९.५७ |
२०८०/०८१ | १०.५८ |
२०८१/०८२ | ११.७८ |
राजस्व वृद्धिको यो प्रवृत्तिलाई सरकारले सकारात्मक संकेतका रूपमा लिएको छ। आगामी वर्षहरूमा दिगो आर्थिक वृद्धिका लागि राजस्व प्रशासनलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउने योजना अघि सारिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना