रसुवागढी र साञ्जेन जोड्ने थाम्बुचेत–काठमाडौं प्रसारण लाइन अन्तिम चरणमा


रसुवा– रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन निर्माणाधीन थाम्बुचेत–काठमाडौं राष्ट्रिय प्रसारण लाइन तयार हुने चरणमा पुगेको छ। यो प्रसारण लाइनको टावर निर्माण ९६ प्रतिशत पूरा भएको छ। उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका-४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशूली हुँदै काठमाडौँसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण अघि बढाइएको हो।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट, तल्लो साञ्जेनको ४२.५ र माथिल्लो साञ्जेनको १४.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन लागिएको हो। भौगोलिक विकटता भएको हाकु क्षेत्रको तिरू इलाकाका लागि आवश्यक सामग्रीलगायतका सबै उपकरण ढुवानी भइसकेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखा प्रमुख थर्कबहादुर थापाले बताए। उनका अनुसार अबको एक महिनाभित्र निर्माण सम्पन्न हुने छ। रसुवाका डाँडापाखामा टावरको काम गराइरहेका आयोजना प्रमुख शुभारम्भविक्रम शाहका अनुसार ७६ वटा टावरमध्ये ६७ वटाको निर्माण पुरा भइसकेको छ। ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटर पूरा भइसकेको जानकारी उनले दिए।
निर्माण सामग्री हेलिकोप्टर, खच्चर तथा मानिसद्वारा निर्माणस्थलमा पुर्याइएको छ। थाम्वुचेतस्थित विद्युत् जडान गर्ने मुख्य स्थानमा उपकरण जडान भई परीक्षण अगाडि बढिसकेको, आवास र पाले पहरा तथा प्राविधिक बस्ने, कार्यालय भवनजस्ता पूर्वाधारको संरचना निर्माणको प्रगति अन्तिम चरणमा पुगेको छ। हाल रसुवागढी जलविद्युत् आयोजनाले तयार गरेको १११ मेगावाट बिजुली खेर गएको छ। उक्त आयोजनाले विद्युत् गृहका सबै उपकरण जडान गरी प्रसारण लाइनको प्रतीक्षारत रहेको प्राविधिकले जानकारी दिएका छन्।
साञ्जेन जलविद्युत् आयोजनाले भने उपकरण जडानको काम गरिरहेको र जडान कार्य सम्पन्न गर्न अब एक महिना लाग्ने जनाएको छ। आयोजनाका वातावरणविज्ञ उमेश पाठकका अनुसार टावर र प्रसारण लाइन निर्माण सम्पन्न नभएका कारण जडान कार्य विस्तारै अगाडि बढेको हो। आयोजना सम्पन्न गर्न संशोधित लागत अनुमान रसुवागढीका लागि १८ अर्ब ४७ करोड र साङ्जेनका दुई आयोजनाका लागि साढे १८ अर्ब रुपैयाँ खर्च हुने आकलन गरिएको छ।
रसुवागढी जलविद्युत् आयोजनाका पूर्वप्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाको डिजाइनबाट निर्माण भएको १११ मेगावाट रसुवागढी आयोजनाले मुहानदेखि विद्युत् गृहसम्म सबै संरचना भूमिगतरूपमा निर्माण गरेको छ भने साङ्जेनको तल्लो र माथिल्लो दुवै आयोजना अर्ध भूमिगत रहेको त्यहाँ कार्यरत प्राविधिकले जनाएका छन्। यस्तै नयाँ निर्माण भइरहेको टावर तथा सव स्टेसनले रसुवागढी, साङ्जेनको अलावा, अपर त्रिशूली–१, लाङटाङ खोला, भोटेकोशी, त्रिशूली थ्री बी, माथिल्लो मैलुङ, सुपर मैलुङ, फलाखु खोलामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा पठाइने योजनाले जनाएको छ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख