ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का

-lg-1738812159.jpg)
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
कोशी प्रदेशबाट प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग बुधबार मन्त्रालयमा आयोजित छलफलमा उनले सरकारले ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउने गरी काम गरिरहेको बताएका हुन् । ‘सरकारले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, यो लक्ष्य पूरा गर्न सरकारलाई तपाईहरू (सांसदहरू) को महत्वपूर्ण सहयोगको खाँचो छ’, मन्त्री खड्काले भने ।
उत्पादित विद्युत्को बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी सुनिश्चित रहेको उल्लेख गर्दै उनले कतिपय आयोजनामा सरकारले लामो समयदेखि लगानी गरे पनि प्रतिफल शून्य रहेको अवस्था हुन नदिन चाँडो आयोजना अगाडि बढाइने बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले ऊर्जा र सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।
पूर्वमन्त्री योगेश भट्टराईले ऊर्जा र पर्यटनमार्फत कोशी प्रदेशको विकास सम्भव भएको बताए । उनले विद्युत् आयोजनाको प्रतिफल स्थानीय जनताले पाउने गरी योजना बनाउनुपर्ने भन्दै कोशी प्रदेशको आर्थिक विकासका लागि तमोर जलाशययुक्त आयोजनालाई लगानी जुटाएर अगाडि बढाउनुपर्ने धारणा राखे ।
पूर्वमन्त्री सीता गुरुङले ऊर्जा क्षेत्रमार्फत मुलुकको आर्थिक विकासका लागि सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताइन् । उनले आयोजनालाई प्राथमिकताका आधारमा अगाडि बढाउनुपर्ने सुझाव दिइन् ।
पूर्वमन्त्री अमललाल मोदीले सुनसरी मोरङ सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर अगाडि बढाउनुपर्ने बताए । उनले बर्सातको समयमा बाढीका कारण तराई क्षेत्रमा हुने समस्याको दिगो समाधान खोज्नुपर्नेमा जोड दिए ।
छलफलमा प्रतिनिधिसभा सदस्य रामकुमार राई, सुहाङ नेम्वाङ, महेश बस्नेत, अम्बरबहादुर रायमाझी, राजेन्द्र राई, उर्मिला थेवे, हर्कमाया विक, राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालालगायतले जनतालाई अनुभूति हुने खालका ऊर्जा र सिँचाइका कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गरेका थिए ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा विकास मार्गचित्रलाई पूरा गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्