यस्तो छ चैतसम्म देशको आर्थिक अवस्था
९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स


काठमाडौँ– चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन् । राष्ट्र बैंकका अनुसार चैतमा वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो ।
चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर(मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।
त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्यसूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ । गत चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ०६, तराईको चार दशमलव ५८, पहाडको पाँच दशमलव ३३ प्रतिशत र हिमालको चार दशमलव ३२ प्रतिशत रहेको छ ।
९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको ९ महिनामा पौने ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स आएको हो । चैत महिनामा मात्र १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चैतसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ । अघिल्लो वर्षको तुलनामा वृद्धिदर भने केही कम भएको छ । अघिल्लो वर्ष यस अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको छ । यस अवधिमा ८ अर्ब १५ करोड डलर विप्रेषण आएको हो । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण १३.९ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । यस अवधिमा संस्थागत रुपमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख २९ हजार ४२२ रहेको छ । अघिल्लो वर्ष यो संख्या ३ लाख ८७ हजार ८३९ जना रहेको थियो । यो अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्ष यो संख्या २ लाख १७ हजार ९५९ रहेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता